३०औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा बुधबार सदरमुकाम बेनीमा आयोजित रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत सङ्कलन भएको छ । लायन्स क्लब अफ म्याग्दी दोभान र बेनी महारानीको संयुक्त आयोजनामा बेनी अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लबहरुले हरेक वर्ष आयोजना गर्दै आएको रक्तदान कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रममा १७ जना महिला र १७ जना पुरुषहरुले स्वतस्फूर्त रुपमा रक्तदान गरेको आयोजकले जनाएको छ ।

लायन्स क्लबको रक्तदान कार्यक्रममा क्लबका विभिन्न तहमा आबद्ध पदाधिकारी तथा अन्य व्यक्तिहरुले रक्तदान गरेका थिए ।  रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रवक्ता एवं ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईलीले रक्तदान नै जीवनदान भएको बताएका छन् । उनले रक्तदानले बिरामीको जीवन बचाउन ठूलो सहयोग पुग्ने बताउँदै म्याग्दी जिल्लामा पछिल्लोपटक रक्तदान गर्ने रक्तदाताहरु समेत बढ्दै गएको बताए ।

लायन्स क्लब अफ म्याग्दी दोभानका अध्यक्ष जानकी विश्वकर्माले लायन्स क्लबहरुले आयोजना गर्दै आइरहेको कार्यक्रमहरुमध्ये रक्तदान कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेकाले यसलाई निरन्तरता दिने बताएकी छिन् । म्याग्दी दोभानका अध्यक्ष विश्वकर्माको अध्यक्षता, विष्णु गुरुङको सञ्चालन र लायन्स क्लब अफ बेनी महारानीका अध्यक्ष रन्जिता भट्टचनको धन्यवादसहित कार्यक्रम सम्पन्न भएको थियो । लायन्स क्लबहरुले रक्तदानसहित निःशुल्क आँखा शिविर, शैक्षिकलगायत विविध कार्यक्रमहरु गर्दै आइरहेका छन् ।

विज्ञापन