पहिले लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी पछिल्लो समय रेमिट्यान्स धेरै भित्रिने जिल्लाहरुको सुचीमा पर्दछ । यस वर्षको दशैंतिहार लगायतका चाडपर्वमा मात्रै झण्डै पाँच करोड रुपैयाँको हाराहारीमा रेमिट्यान्स भित्रिएको बताइएको छ ।
यसैबीच युवालाई विदेश जानबाट रोक्न बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाले युवालक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

म्याग्दीका पालिकाहरुले विदेशिने युवाहरुलाई स्वदेशमै रोजगारको व्यवस्थासम्बन्धी विभिन्न नीतिहरु बनाएर कार्यक्रम सञ्चालन गरेका छन् । पालिकाहरुले युवा स्वरोजगार, उद्यमसिलता, आयआर्जन, युवाहरुलाई प्रविधि तथा अनुदान सहयोग जस्ता कार्यक्रमहरु बनाएका छन् ।

यसैगरी कृषिको उत्पादनमा जोड, स्थानीय स्रोत तथा साधनमा आधारित लोक्ता कागज प्रशोधन, अल्लोबाट ऊन उत्पादन, तरकारी खेती, पशुपालन, फलफुल, केरा खेती जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको छ । धौलागिरी, मालिका र मंगला गाउँपालिकाले जस्तै बेनी नगरपालिका, रघुगंगा तथा अन्नपूर्ण गाउँपालिकाले पनि स्वदेशमै युवा रोजगार सिर्जनाका लागि कृषि र पशुपालनसम्बन्धी विभिन्न कार्यक्रमहरु बनाएका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष कतार बसेर फर्किएका मंगला गाउँपालिका–५, अर्मन, पिपलबोटका ४० वर्षीय दलबहादुर रोकाले गाउँपालिकाले भकारो सुधार कार्यक्रममा सहयोग गरेसँगै व्यावसायिक भैंसीपालन सुरु गरेका छन् । युवालाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि स्थानीय सरकारले कृषि र पशुपालनका क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ छ । त्यस्तै मालिका–६, दरबाङ, ढाँडखर्कका ४६ वर्षीय दलबहादुर गुरुङले पनि टनेलमा व्यावसायिक गोलभेंडा खेती गरिरहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा ३ वर्ष साउदी र ३ वर्ष मलेसिलामा बिताएर फर्किएका गुरुङले गाउँपालिकाको आर्थिक सहयोगमा अहिले ७ वटा टनेलमा गोलभेंडा खेती गरेका हुन् ।

मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले विदेशबाट फर्किएका युवा तथा युवा पलायन रोक्नका लागि गाउँपालिकामार्फत युवालक्षित विभिन्न किसिमका स्वरोजगार सिर्जना हुने खालका कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए । उनले गाउँपालिकाको अगुवाईमा गाउँठाउँमै रोजगार सिर्जनाका लागि युवाहरुको सहभागितामा प्राङ्गारिक मलको उद्योग स्थापना, मानवमुत्र सङ्कलन, व्यावसायिक भैंसी, बाख्रा तथा माछापालन, सुन्तलाजात फलफुल उत्पादन खेती जस्ता कार्यक्रमहरुको सुरुवात गरिएको बताएका छन् ।

विज्ञापन