चारैतिर चर्किएको साँधुरो कोठा। पुराना टिनको छानोबाट पानी चुहिने । त्यहीभित्र केही खानेकुरा, बाख्रा र कुखुरा छन् । ढोका र एउटा झ्यालमा टिनले बेरिएको छ, चारैतिरबाट हावापानी छिर्छ । बेनी नगरपालिका–१ उपल्लाचौरमा विगत १२ बर्षदेखि बस्दै आएकी ७५ बर्षिया हिरामति कामी शनिबार नयाँ घरमा सरेकी छन् ।

बेनीअनलाइनबेनी साप्ताहिकले पहिलोपटक कामीको समाचार प्रकाशित गरेपछि लायन्स क्लवले घर बनाउने घोषणा गरेको थियो । घर भत्किएर विस्थापित भएपछि गाउँ नजिकै ब्यक्तिगत जग्गामा बस्दै आएकी कामीलाई लायन्स क्लव अफ बेनी पिस सिटीले वडा कार्यालयसँग समन्वय गरी चिटिक्कको घर बनाइदिएपछि निकै खुशी भईन् ।

लायन्स क्लवले १ लाख २० हजारका साथै वडा कार्यालय, स्थानीय सालघारी र सुन्दरचौर सामुदायिक बनमार्फत काठ, आमा समुहको श्रमदानमा बृद्धा कामीको पुरानै जग्गामा निर्मित घरको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले उद्घाटन गरे ।

आगलागीबाट घर जलेर नष्ट भएपछि विस्थापित भएकी कामीलाई स्थानीयबासीको उपस्थितीमा नयाँ घर हस्तान्तरण गरिएको थियो ।‘बृद्धाले नयाँ घर पाउनुभएको छ, सहयोग जुटाएर घर बनाउने कार्य ठूलो मानवीय सेवा हो’ प्रजिअ ढकालले भने । उनले म्याग्दीको परोपकारी अभियानमा केही यूवाहरुको प्रयास नेपालमै नौलो रहेको बताए।

सोही अवसरमा लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ ‘वि’ १ का को–एडभाईजर चन्द्रकुमार केसीले लायन्स क्लवमार्फत विपन्नलाई घर नै उपहार दिने प्रयासको प्रशंसा गरे । उनले विपन्नलाई घर बनाइदिने अभियानको सन्देश लायन्समार्फत देशैभरी फैलिने बताए । जिर्ण घरमा बस्दै आएकी कामीले नयाँ घरमा पुगेपछि नयाँ घरमा बस्न पाउँदा खुसी लागेको बताईन्। ‘अब म कतै जान्न,‘बुढेशकालमा खुसीको दिन आयो’ कामीले भनिन्। उनले अहिलेसम्म जम्मा गरेका धेरै पैसा आफन्तले हिनामिना गरिदिएका छन्।

उनले आफ्नै जमिन भएपनि पैसा नभएकाले गाउँ छोड्नुपर्ने अवस्था आएको बताईन् । उनले घरमा पानी जम्मा गर्ने ड्रम, एउटा सानो शौचालयको माग गरेपछि तत्कालै लायन्स क्लवले बनाइदिने प्रतिबद्धता जनाएको थियो । लायन्स क्लव बेनी पिस सिटीका अध्यक्ष नरेश श्रेष्ठले संस्थागत गतिविधिमा आफ्नो कार्यकालमा सबैभन्दा महत्वपुर्ण कार्यक्रम रहेको बताए । उनले हिरामतीको १२ बर्षपछि खुसी ल्याउन सफल भएको बताए ।लायन्सको सहयोगमा स्थानीय इन्द्र बहादुर किसानको संयोजकत्वमा निर्मित घर बाहिर बाख्रापालन गर्ने योजना बनाएकी छन् ।

सुरक्षित स्थानमा रहेकाले स्थानीयले समेत बृद्धालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । २ बाख्रा साथमै रहेकाले उक्त बाख्रा बेचेर, सामाजिक सुरक्षाभत्तामार्फत खर्च चलाउन सहज हुने वडा अध्यक्ष टेकबहादुर रावलले बताए । उनले लायन्स क्लवमार्फत प्राप्त सहयोगले वडाभित्र नयाँ काम सम्भव भएको बताए । सामाजिक एवम् परोपकारी अभियानमा संलग्न यूवाहरु आवद्ध रहेको लायन्स क्लवले बहुमुल्य बोधिचित्त रोपण, स्वास्थ्य शिविर सहित सामाजिक तथा सन्देशमुलका कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ । कार्यक्रमको सञ्चालन लायन्स क्लवका सचिव सन्दिप खत्रीले सञ्चालन र पत्रकार हरिकृष्ण गौतमले स्वागत गरेका थिए ।

विज्ञापन