म्याग्दीमा कष्टकर जीवन बिताइरहेका चारजनालाई मानवसेवा आश्रमले उद्धार गरेको छ । जिल्लाको विभिन्न स्थानमा भेटिएका चारजनालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषमार्फत आफन्त र जनप्रतिनिधिको उपस्थितीमा मानवसेवा आश्रम पोखराका प्रतिनिधिले उद्धार गरेका हुन् ।

जिल्लाको धवलागिरी गाउँपालिका–३, मुनाकी ९ बर्षिया सुस्मिता विक, अन्नपूर्ण गाउँपालिका–४, नारच्याङकी ५२ बर्षिया मतिकला गर्बुजा, २६ बर्षिय गणेश पूर्जा र एकजना भारतीय मुलका जस्तै देखिने अपरिचित ब्यक्तिलाई सदरमुकाम बेनीबाट उद्धार गरिएको ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले बताए ।

अपहेलित भएर बेसहारा जिन्दगी व्यतीत गर्नुपर्ने अवस्था बालबालिकादेखि बृद्धबृद्धाका बारेमा तत्कालै जानकारी दिएमा आश्रमले उद्धार गर्ने मानवआश्रम गण्डकी प्रदेशका होमनाथ तिमिल्सिनाले बताए । आश्रमले सडक पेटी, बाटो र चौतारोमा अलपत्र भेटिने, प्रयाप्त उपचारको अभावमा मानसिक सन्तुलन गुमाएका बिरामीलाई उपचार सहित विषेश रेखदेख गर्ने गरेको छ। हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले मानवसेवा आश्रमले धेरैको ज्यानको सुरक्षा गरेको बताए ।

म्याग्दीबाट उद्धार गरिएकालाई बागलुङमा पठाउन समेत सहज हुने भएकाले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले समेत सहकार्य गर्ने अध्यक्ष राजेश शाक्यले बताए । मानवसेवा आश्रमले विक्रम संवत् २०८२ सालसम्ममा नेपाललाई सहयोगापेक्षी सडक मानव मुक्त बनाएर विश्वमा पहिलो मानवताको देश बनाउने लक्ष्य लिएको छ । कार्यक्रमको अध्यक्षता कोषका अध्यक्ष शाक्य, सञ्चालन सहसचिव सन्दिप खत्रीले गरेका थिए ।

विज्ञापन