काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित सडकमा एक चिकित्सकलाई ठक्कर दिने गाडीको अझै पहिचान खुल्न सकेको छैन । बिहानैदेखि गाडीको खोजी गरे पनि राति अबेरसम्म यकिन गर्न नसकिएको प्रहरीले जनाएको छ ।

आज बिहान करीब ६ बजेको समयमा पैदलयात्रामा निस्किएका बेला गाडीले ठक्कर दिँदा चिकित्सक डा. प्रभु जोशीको निधन भएको थियो । उहाँ वसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले सिसी टिभी फुटेजका आधारमा गाडीको खोजी गरिरहेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले सडकबाट बाटो काट्न लाग्दा बसले ठक्कर दिएको जानकारी दिनुभयो ।

सिसी टिभीको फुटेजबाट ठूलो बसले ठक्कर दिएको देखिएकाले बसको खोजी गरिरहेको उहाँले बताउनुभयो । नम्बरको पहिचान नभए पनि गाडी पत्ता लाग्ने उहाँको भनाइ छ । जोशीको परिवारले ठक्कर दिने गाडीका चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै महानगरीय प्रहरी वृत्तमा जाहेरी दिएको छ । रासस