म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्न जाने ज्येष्ठ नागरिक, अपाङ्ता भएकालाई आज सोमबार दिनभरी म्याग्दी कोरला यातायात प्रालिले निशुल्क बस सेवा दिने जनाएको छ । कोरलाका तीनवटा बसमा ट्राफिक प्रहरीको उपस्थितीमा बृद्धबृद्धा, अपाङ्ता र साना बच्चा लिएका महिलालाई दिनभरी निशुल्क सेवा दिने छ ।

बेनीबाट एक र गलेश्वरबाट एक गरी विहान १० बजेसम्म दुईवटा र दिउँसो तीनवटा बसले एकसाथ सेवा दिने जनाइएको छ । बसमा तोकिएको बाहेकका यात्रु सवार भएमा निकालिने म्याग्दी कोरला यातायात प्रालिले जनाएको छ । बसभित्र ट्राफिक प्रहरी सहित प्रहरीको टोली ब्यवस्थापन गर्न पत्रचार गरिएको प्रालिका अध्यक्ष सुरत केसीले बताए । उनका अनुसार गलेश्वर बजारभित्र प्रवेशको सम्भावना नभएको बताए ।

उनले भिडभाडमा बसलाई लैजान नसकिने बताइएपछि बसपार्कमै यात्रुलाई ओरालेर सेवा दिने बताइएको छ । प्रालिले सामाजिक उत्तरदाहित्व अन्तरगत बेनी–गलेश्वरमा ३ वटा बसलाई प्रयोग गर्ने छ । ३२ सिटे मुस्ताङ–बेनी–पोखार चल्ने बसलाई दर्शनार्थीको सेवामा पहिलोपटक निशुल्क गर्न लागिएकाले भविस्यमा पर्वहरुमा समेत सेवालाई निरन्तरता दिने जनाएको छ ।

उक्त बसभित्र ज्येष्ठ नागरिक, अपाङ्ता, साना बालबच्चा सहितका महिला बाहेक अन्यलाई प्रवेश गर्न नदिने गरी ट्राफिक प्रहरी तथा प्रालिका कर्मचारीले समेत कडाई गर्ने बताइएको छ । ज्येष्ठ नागरिक, अपाङ्ता भएकालाई गलेश्वर शिवालय क्षेत्र विकास कोषले फरक लाइनमा राखेर प्राथमिकताका साथ पूजाआजा गर्ने दिने ब्यवस्था समेत मिलाएको कोषका अध्यक्ष रुद्ध बहादुर केसीले बताए । कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।