बेनी अस्पताल म्याग्दीको परिसरमा सञ्चालित निःशुल्क मनो–स्वास्थ्य शिविरबाट कुल ६४ जना लाभान्वित भएका छन् । कोपिला नेपाल, पोखराको आयोजना र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको समन्वयमा निःशुल्क शिविरमा मानसिक रोगीहरुको उपचार गरिएको हो ।

म्याग्दीसहित छिमेकी जिल्ला पर्वत र बागलुङबाट गरी शिविरमा ३६ जना महिला तथा २८ जना पुरुषहरुले मनो–स्वास्थ्यसम्बन्धी उपचार सेवा लिएको कोपिला नेपालका सामाजिक सहजकर्ता भुवन सापकोटाले जानकारी दिए । शिविरमा मनमा कुरा खेलिरहने, टाउको दुखिरहने, रिस उठ्ने, छटपटी हुने, निन्द्रा नलाग्ने, डर, चिन्ता, निरासा, एकोहोरो हुने, बर्बराउने जस्ता समस्याहरुको उपचार गरिएको थियो ।

उक्त शिविरमा बिजी हस्पिटल पोखराका विशिष्ट मनोचिकित्सक डाक्टर निर्मल लामिछानेले बिरामीहरुको उपचार गरेका थिए । यसैगरी कोपिला नेपालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रेमनाथ भट्टराई, मनोविमर्शकर्ता जुनु श्रेष्ठ र खममाया पुनमगरले परामर्श सेवा उपलब्ध गराएको आयोजकले जनाएको छ ।

शिविरमा बिरामीहरुलाई निःशुल्क रुपमा औषधी वितरण गरिनुका साथै मरामर्श सेवा उपलब्ध गराइएको थियो ।
निःशुल्क मनो–स्वास्थ्य शिविरमा नियमित रुपमा औषधी सेवन गरिरहेका बिरामीहरुले पनि सेवा लिएका थिए । शिविरमा गैरसरकारी संस्था महासंघ म्याग्दी शाखाका उपसचिव प्रकाश रेग्मी र कोपिला नेपाल, पोखराका कार्यक्रम संयोजक तीर्थबहादुर थापाको समेत उपस्थिति रहेको थियो ।

विज्ञापन