नेकपाको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा चहलपहल ह्वात्तै बढेको छ । कार्यकारी अध्यक्ष हुनुअगाडिसम्म पूर्व माओवादी समूहका धेरै नेता-कार्यकर्ता पुग्ने दाहाल निवासमा अहिले पूर्व एमालेका नेता तथा कार्यकर्ताको पनि आवतजावत बाक्लिन थालेको छ ।

आफ्नो निवासमा भेटघाटका लागि धेरै नेता आए पनि दाहालले एउटा पात्रको अभाव महसुस गरिरहेका छन्। ती पात्र हुन्- पूर्वसभामुख कृष्णबहादुर महरा। जो, दाहालका विश्वासिला र भरपर्दा ‘दोस्त’ थिए। हुन त नेकपाको कार्यकारी अध्यक्षको अधिकार पाएका दाहाल अगाडिपछाडि नेताहरुको ठूलै लाइन छ। तर, उनीसँग अहिले महराजस्तो भरपर्दो, पत्यारिलो पात्र छैनन्। दाहाल सचिवालयकाअनुसार नेता महराको ठाँउ अहिलेसम्म कसैले लिएको छैनन्।

दाहाल निकट एक केन्द्रीयसदस्य भन्छन्, ‘सत्ता र शक्ति प्राप्तिका लागि नजिक हुने नेताहरुको सूचि त लामै छ। तर, महराजस्ता विश्वास भएका नेता अहिले नै यिनै हुन् भन्ने अवस्था छैन। दाहालले बेलाबेला महरासरको अभाव महसुस गर्नु भएको छ। अहिले राजनीतिक लाभहानी हेरेर नजिक र टाढा हुने नेताहरु मात्रै छन्।’

सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियासम्म र सत्तासंघर्षदेखि अन्तर पार्टी संघर्षसम्ममा आएका हरेक चुनौतिको हल खोज्न दाहालले महरासँग परामर्श गर्थे। र, त्यसैअनुसारको जिम्मेवारी दिएर दाहालले महरामार्फत आफ्नो राजनीतिक गोटी चाल्थे।

नेकपाका एक स्थायी कमिटी सदस्यअनुसार दाहाललाई राजनीतिक र वैचारिक रुपमा आवश्यक परामर्श दिनसक्ने धेरै नेता भए पनि प्राविधिक विषयमा समेत छलफल गर्न सक्ने महरा एकमात्र नेता थिए। उनका अनुसार विगतमा दाहालको विचार निर्माणमा मोहन वैद्य र डा बाबुराम भट्टराई नजिक थिए। तर, जोखिम मोलेर दाहालका लागि काम गर्ने महरा नै थिए। याे कान्तिपुर दैनिकले छापेकाे छ।