भिआर मोटरसाइकल र बोलेरो जीप एकआपसमा ठोक्किँदा तीनजना घाईते भएका छन् । म्याग्दीको सदरमुकाम बेनीबाट गलेश्वर तर्फ जाँदै गरेको भिआर मोटरसाइकल र गलेश्वरबाट आउँदै गरेको बोलेरो जीप बेनी नगरपालिका–८ जलेश्वरको रातोपहिरो नजिक ध १ च २३५ नम्बरको बोलेरो र विपरीत दिशाबाट आइरहेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार चालक अन्दाजी २३ बर्षिय सन्तोष थजाली, २० बर्षिय मनि पूर्जा र २५ बर्षिय अमर पाईजा घाईते भएका छन् । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख बिष्णुबहादुर नेपालीले बताए । ‘मोटरसाइकल विपरित दिशाबाट अगाडी बढ्न खोज्दा दुर्घटना भएको देखिन्छ,‘तिब्र गतिमा आफ्नो ट्रयाक बाहिरबाट मोटरसाइकल अगाडी बढेको देखिन्छ’ नेपालीले भने ।

उनका अनुसार मोटरसाइकल र बोलेरो जीप ठोक्किँदा घाईते भएकालाई तत्काल बेनी अस्पतालमा ल्याइएको बताए । घटनामा बोलेरो जीपका चालकलाई भने कुनै चोटपटक लागेको छैन् । तिब्र गतिको मोटरसाइकल अनियन्त्रित भएर बोलेरोमा ठोकिएको बताइएपनि प्रहरीले दुर्घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । यूवाहरू गलेश्वरको मेला जाँदै गर्दा दुर्घटनामा परेको समान्य घाईते मनी पूर्जाले बताए ।

‘म पछाडी बसेको थिए, दुर्घटनालगत्तै केही थाहा पाइन्’ उनले बेनीअनलाइनलाई भने।उनका अनुसार मोटरसाइकल सन्तोष थजालीले चलाइरहेका थिए ।‘ठोक्किँदा वित्तिकै तीनजना हावामा उडेका थिए,‘लगत्तै ट्याक्सीमा अस्पतालमा पठाइयो’ मंगला गाउँपालिकाकी उपाध्यक्ष सिर्जना केसीले भनिन् । उनले दुर्घटना प्रत्यक्ष देखेको बताउँदै घटनालगत्तै एकजना र थप दुईजनालाई अस्पतालमा पठाइएको बताईन् ।

प्रहरीको टोली र अन्य यात्रु समेत घटनास्थल नजिक भएकाले तत्कालै उपचारका लागि बेनी अस्पतालमा ल्याउन सफल भएको प्रहरीले जनाएको छ । मोटरसाइकल कच्याकुच्चुक भएको छ भने बोलोरो समेत जेसिबीले प्रहरी कार्यालयमा ल्याइएको छ । बोलेरो समेत कुच्चिएको छ। बोलेरोमा ठोकिएपछि तीनजना यूवा उछिटिएर सडकमा बजारिएका थिए।

दुईजनालाई हेलिकप्टरबाट पोखरा पठाइयो
घाईते मध्ये सन्तोषको शरीरका विभिन्न भागका साथै टाउकोमा गम्भीर चोट लागेको छ भने अमरको टाउकोमा चोट देखिएपछि बेनी अस्पतालका डा. नवराज बस्ताकोटीको नेतृत्वमा चिकित्सकले उपचार गरी थप उपचारका लागि पोखरा पठाइएको छ । मोटरसाइकल चालक थजालीको अवस्था निकै चिन्ताजनक भएपछि चिकित्सकले तत्काल हेलिकप्टरबाट थप उपचारका लागि पठाउनुपर्ने बताएपछि घाईतेका आफन्त सल्लाह गरी गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले हेलिकप्टर मगाएका थिए ।

गाउँपालिका अध्यक्ष भण्डारीले हेलिकप्टर मगाएपछि तत्कालै गम्भीर घाईते थजाली र पाईजालाई पोखरा पठाइएको थियो । पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले उपचारमा कुनैपनि कमी हुन नदिने गरी पोखरामा रहेकापाखापानीबासीलाई जानकारी गराइएको बताए । घाईतको अवस्था बुझ्न नेकपा कार्यालय सदस्य बालकृष्ण सुबेदी, नेपाली कांग्रेस म्याग्दीका कार्यसमिति सदस्य केबी भण्डारी अस्पतालमा पुगेका थिए । घाईतेलाई उपचार सहित हेलिकप्टरको लागि पाखापानीबासीले अनुरोध गरेका थिए ।