धवलागिरीका पाँच सहकारीले दिदीबहिनी सहकारीको भ्रमण

म्याग्दीको सदरमुकाम बेनीमा रहेको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थामा एकैपटक पाँचवटा सहकारीले भ्रमण गरेका छन् । महिलाको लगानी र ब्यवस्थापनमा संचालित सहकारीमा जिल्लाको धवलागिरी गाउँपालिकाभित्रका पाँचवटा सहकारीले भ्रमण गरेका हुन् ।

गाउँपालिका भित्र सञ्चालित सहकारीलाई ब्यवस्थित तथा नयाँ अनुभवको साटासाट गर्ने, कर्जा तथा निक्षेप प्रवाह लगाएतका बारेमा जानकारी लिन हिमाली कृषि सहकारी गूर्जा, नमुना महिला उद्यमशील सहकारी लुलाङ, मुनाल कृषि सहकारी मुना, धौलागिरी कृषि सहकारी बगर र नमुना धौलागिरी महिला बचत तथा ऋण सहकारी संस्था मुनीका सञ्चालक समिति सदस्य, सेयर सदस्य, कर्मचारीले भ्रमण गरेका हुन् ।

संगम म्याग्दी मार्फत सञ्चालित सामुदायिक विकास परियोजनाको आयआर्जन कार्यक्रम मार्फत सहकारी प्रर्वधनमार्फत भ्रमणमा रहेका सहकारीका प्रतिनिधिले दिदीबहिनी सहकारीमार्फत गरिएका राम्रा प्रयासलाई आफ्नो सहकारीमा निरन्तरता दिने प्रतिबद्धता जनाए । सहकारी भ्रमणको क्रममा सहकारीकी सल्लाहकार एवम् बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले महिलाको उद्यमशिलता, साना लगानीमार्फत आम्मनिर्भर बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।

उहाँले दिदीबहिनी सहकारीका बारेमा जानकारी दिदैं सहकारीमार्फत महिलालाई परिवारका अन्य सदस्यमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्यमा सघाइरहेको बताउनुभयो । सोही अवसरमा धवलागिरी गाउँपालिका वडा नं १ का अध्यक्ष झकबहादुर छन्त्यालले सहकारी ब्यवस्थापनमा केन्द्रित भएर भ्रमण गरिएको बताउनुभयो । कार्यक्रममा संगम म्याग्दीकी उद्यम विकास अधिकृत धनमायाँ किसानले सहजीकरण गर्नुभएको थियो भने दिदीबहिनी सहकारीकी उपाध्यक्ष विष्णु गौतम सापकोटाले अध्यक्षता गर्नुभएको थियो ।