२४ बर्षदेखि बलबहादुरको बनमा बास

0

बेनी नगरपालिका–४, थामडाँडा सामुदायिक बनमा पालले घेरेको साँधुरो छाप्रो छ । झट्ट हेर्दा अस्थायी शौचालय जस्तै देखिन्छ, पालको चारैतिर प्वाल नै प्वाल छन् । पाल थोत्रिसकेको छ। छाप्रोभित्र छिर्न साँघुरो ढोका छ । सामान्य हावाहुरीले पाललाई धेरैपटक उडाइदियो । च्यातिएको पाललाई जोडजाम गरेर विगत २४ बर्षदेखि बलबहादुर खत्री बस्छन्। सानो कटेरो भित्र ६० बर्षिय खत्रीले कष्टकर जीवन विताइरहेका छन् ।

ओढ्ने–ओछ्याउने, एकछाक पकाउने अन्न समेत छैन् । स्थानीय समुदायको सहयोगमा सामुदायिक बनभित्र सानो छाप्रोमा बस्दै आएका खत्री बिरामी छन्।खाना पकाउँदा आगोले लत्ताकपडा जलेर नष्ट भएपछि चिसो भुईमा सुत्ने गरेको खत्रीले बताए ।‘जाडोमा आगो नबाली रात कटाउन सकिन्न,‘बिरामी भएर रातभरी सुत्नै सकिन्न’ खत्रीले भने। चारदिन अगाडी पकाएको खाना देखाउँदै खत्रीलाई आफन्तले ल्याएर दिएपछि मात्रै खान पाउँछन् । चिसोले शरीर सुन्निने, काम्ने लगायतका समस्या देखिएका छन् ।

चिसोबाट बच्ने उपचारको क्रममा स्वास्थ्यकर्मीले सुझवा दिएपनि उनी २४ घण्टै चिसोमा बस्नुपर्ने बाध्यता रहेको छ ।बेनपा–६, गुफाडाँडा स्थायी घरभई बहिनीज्वाँईको घर नजिक आएर बसेका खत्रीको डेढदशक अगाडी छोरीलाई म्याग्दी खोलाले बगाएपछि मानसिक रुपमा कमजोर भएको आफन्तको भनाई छ।

दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्ने गरेको अवस्थामा खोलाले छोरीलाई बगाएपछि श्रीमतिले समेत छोडेर गएको बहिनी चन्द्रकला खत्रीले बताईन् ।‘भाईको उपचारमा धेरै खर्च गरियो,‘ऋण खोजेर खर्च गर्दा पनि निको भएन’ चन्द्रकलाले भनिन्। लामो समयसम्म समान्य औषधी उपचारका लागि आर्थिक जुटाउन नसक्दा समस्या भएको बताईन्। मानसिक रुपमा कमजोर भएकै कारण पूरानो एकसरे ओड्ने सिरक, दाउरालाई सिरानी बनाएर सुत्ने गरेको बताईन् ।

चौविस बर्षसम्म दाईको बनमा बास भएपनि घरमै ल्याएर राख्ने आफ्नो आर्थिक हैसियत नभएको बताईन् ।उनले आफुँहरुले समेत सुकुम्बासी जीवन विताइरहेको बताइन् । पानी चुहिएकाले सुत्ने ठाउँ समेत चिसो भएकाले शरीर कमजोर भएको आँखाबाट आँसुको धारा चुहाउँदै उनले भनिन् ।

‘हात पाखुरो लाग्दासम्म त काम समेत गरेको अवस्थामा बिरामी र उमेर ढल्किदै गएपछि दाईको चिन्ताले सताउने गरेको बताईन् । गाइ वस्तु बस्ने जस्तो ठाउँ समेत नभएको उनको भनाई छ ।विपन्न परिवारमै विवाह भएपनि अवस्था देख्न नसकेर घर नजिकै ल्याउने प्रयास गरेको बताईन् ।उनले पुष–माघको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिकिस्त हुने गरेको बताईन्।

थामडाँडा, बास्कुना क्षेत्रका स्थानीयले समेत दयनीय अवस्थालाई देखेर सहयोग गर्ने गरेपनि कष्टकर जीवन विताइरहेका खत्रीको उद्धार गरी आश्रममा राख्नुपर्नेमा जोड दिएका छन् । ‘सहयोगले मात्रै उहाँलाई सजिलो छैन्,‘बुढेशकालमा विरामी हुनुभएको छ’ स्थानीय राजु गुरूङले भने। उनले बृद्धको उद्धार गरी आश्रममा राख्नुपर्ने बताए । कुनैपनि प्रश्नको जवाफ दिने भएकाले पनि मानसिक रोगीको रुपमा हेर्न नहुने स्थानीयको भनाई छ ।

‘सन्चो हुदाँ खेतीपातीमा जानुहुन्छ,‘कसैलाई हानी पु¥याउनुभएको छैन’ भिम बहादुर गुरूङले भने । उनले विगतमा ज्यालामजदुरी गरेर समेत जीवन निर्वाह गर्ने गरेको अवस्थामा बुढेशकालमा रोगले समेत ग्रसित भएपछि आवतजावत गर्न समेत समस्या रहेको बताए । बृद्धको अबस्था दयनीय बन्दै गएकाले सामुदायिक बनभित्रै बस्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरोकारवाला निकायले चासो देखाउनुपर्ने स्थानीयको भनाई छ ।

Leave a Reply