प्रधानमन्त्री केपी शर्मा ओलीको पेटको आकस्मिक शल्यक्रियापछि मिर्गौलाको दोस्रो प्रत्यारोपण केही पर धकेलिए पनि त्यसका निम्ति दाताहरू खोजिसकिएको थाहा भएको छ ।

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीको ससुरालीतर्फबाट नाता पर्ने एकजना र घरतर्फबाट नाता पर्ने एकजना गरी दुई महिलाको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको छ ।

स्रोतका अनुसार ससुरालीतर्फबाट नाता पर्ने ललितपुरकी महिला ५० वर्ष उमेर कटेकी छन् भने घरतर्फबाट नाता पर्ने झापाकी युवती ३५ वर्षमुनिकी हुन् । उनीहरूको प्रधानमन्त्री ओलीसँग घनिष्ठ पारिवारिक नाता छ । दुवै महिलाबारे कान्तिपुरले विस्तृत विवरण प्राप्त गरे तापनि उनीहरूको व्यक्तिगत गोपनीयतालाई ध्यानमा राख्दै परिचय खुलाइएको छैन ।

उनीहरू दुवैको रगत, पिसाब, मिर्गौलाको सीटी एन्जियो, डीटीपीए स्क्यान, ईसीजी, ईको, अल्ट्रासाउन्डलगायत परीक्षण साताअघि नै एक सरकारी अस्पतालमा भइसकेको छ । उनीहरूको ‘टेस्ट रिपोर्ट’ को विवरण उल्लेख गर्नुपर्ने स्थानमा ‘सम्भावित मिर्गौला दाता’ लेखिएको छ । याे खबर कान्तिपुर दैनिकमा छ।