समुदायको सक्रियतामा भकिम्लीमा ठडियो अत्याधुनिक विद्यालय भवन

केहीबर्ष अगाडीसम्म बेनी नगरपालिका–३, भकिम्लीमा रहेको जयन्ती माध्यामिक बिद्यालयका बिद्यार्थी ज्यानको जोखिम मोलेर पढ्न बाध्य थिए । जीर्ण अबस्थामा रहेको भवनमा जोखिम मोल्दै पढ्नु पर्ने बिद्यार्थीको बाध्यता थियो । पटक–पटक मर्मत गरिएको भवन भत्किने होकी भन्ने चिन्ताले अभिभावक, शिक्षक र विद्यार्थीलाई सताइरहन्थ्यो। हावाहुरीका कारण पटक–पटक छाना उडाएपछि ढुङ्गाले थिचेर पठनपाठन संञ्चालन गर्दै आएको अनुभव स्थानीय अगुवाहरूमा छ ।

जस्तालाई थिचेका ढुङ्गा खसेर शिक्षक बिद्यार्थीलाई चोटपटक लाग्ने भन्दै दशकैं वित्यो। विद्यालयको स्थापनाकालमा निर्मित भवन चर्किएर भत्किनै लागेको अवस्थामा विस्थापित गर्न स्थानीयले राजनीतिक दल सहित सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गर्दा समेत कुनै सुनुवाई भएन् ।

डरैडरमा कक्षा कोठा भित्र गएका शिक्षक, विद्यार्थीसँग प्रसस्तै अनुभव छन्। सरकारी निकायबाट प्रयाप्त बजेटको अभाव, २०७२ सालको बिनाशकारी भूकम्पले भवनमा थप क्षती पुगेपछि स्थानीयले सरकारी निकायको मुख नताकी भकिम्लीबासीकै सक्रियतामा अत्याधुनिक भवन ठडिएको छ।स्थानीयको एकल प्रयासमा सुरू भएको भवन निर्माणकार्यमा विस्तारै सरकारी निकायबाट समेत सहयोग थपिदै गएपछि २२ कोठे सुविधासम्पन्न भवन बनेको हो ।

स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीको चन्दा, जनश्रमदान लगाएत विभिन्न माध्यमबाट कुल ३ करोड ३७ लाखको लागतमा विद्यालयको ठडिएको वडा अध्यक्ष एवम् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताए । ‘अति गरिब भकिम्लीबासीले समेत अन्नबाली बेचेर सहयोग गरेका छन्,‘घरायसी काम छोडेर बृद्धबृद्धाले समेत श्रमदान गर्नुभएको छ’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुनले भने ।

उनले अत्याधुनिक विद्यालयको भवनसँगै शैक्षिक गुणस्तरबृद्धिमा केन्द्रित हुने बताए । सामुदायिक विद्यालयमा जिल्लाकै नमुना बनाउने गरी शैक्षिक महोत्सव, बहस, कार्ययोजना सहित स्थलगत अनुगमन भ्रमणलाई समेत प्राथमिकता दिने पुनको भनाई छ ।

सुनौलो भविश्य बोकेका भविश्यका कर्णाधार कलिला बालबालिकालाई कक्षा कोठामा ढुक्कसँग पढ्ने बाताबरण बनाउन सफल भएको बताए । भवन निर्माणमा विद्यालयको आन्तरिक आम्दानीबाट १२ लाख ७० हजार, ब्यक्तिगत सहयोग ५२ हजार १५ हजार ४ सय, संघसंस्था ३८ लाख ७० हजार, नेपाल सरकारबाट १ करोड १७ लाख ९९५, ब्यक्तिगत चन्दा ८२ लाख लगाएत करिव कुल ३ करोड १६ लाख आम्दानी भएको विद्यालयका प्रधानाध्यापक रामबहादुर पुनले बताए ।

उनका अनुसार भवन निर्माणमा ३ करोड ३६ लाख खर्च भएकोमा २२ लाख ऋण रहेको बताए । भवन निर्माणमा एकै ब्यक्तिले १० लाखसम्म चन्दा हालेका छन् भने विभिन्न देशबाट लाखौं सहयोग जुटाएर भवनको करिव ९५ प्रतिशत काम सम्पन्न गरिएको प्रअ पुनको भनाई छ । भवन निर्माणसँगै कक्षाकोठा बाहेक बैठक कक्ष, पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशाला समेत राखिने छ।

‘भूकम्पप्रतिरोधी विद्यालय अपांगमैत्री, बालमैत्री र बातावरणमैत्रीसमेत छ,’ शिक्षक अभिभावक संघका अध्यक्ष रत्न जिसीले भने ।उनले बिजुली, इन्टरनेट जडित विद्यालयमा खानेपानी, डेस्क, बेञ्च, प्रोजेक्टर, टेलिभिजन, पोडिएम, पुस्तकालय, विज्ञान र कम्प्युटर प्रयोगशालालाई समेत प्राथमिकता दिएको बताए ।‘भौतिक पूर्वाधार पर्याप्त भएका छन्,‘अब शैक्षिक गुणस्तरमा ध्यान दिन्छौँ,’ जिसीले भने।

विभिन्न देशमा रहेका भकिम्लीबासीले समेत विद्यालयको शैक्षिक गुणस्तरलाई जिल्लामै प्रतिस्पर्धी बनाउन आधारभुत तहदेखि नै आधुनिक प्रविधिको प्रयोग तथा पढाई केन्द्रित गतिविधिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । ‘भकिम्लीको जनशक्तीलाई विक्ने गरी भावी योजना बनाउनुपर्छ’ समाजसेवी पृथिप्रसाद पुनले भने । उनले भौतिक पूर्वाधार एउटा आवश्यकता भएपनि प्रमुख शैक्षिक गुणस्तर नै भएको बताए । ‘गाउँदेखि बिदेशसम्म रहेका भकिम्लीबासीले पसिना बगाएका छन्’ पुनले भने ।

उनले बालविकासदेखि कक्षा १०सम्मको कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले शैक्षिक गुणस्तर वृद्धिमा कमजोर विद्यार्थीलाई आवासीय सुविधाको व्यवस्थापन, शिक्षक र गरिब तथा जेहेन्दार बालबालिकाको बृत्ति विकासमा आवश्यक कोषको ब्यवस्थापन गर्नुपर्ने बताए । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय समुदाय तथा प्रवासबाट आएका भकिम्लीबासीलाई सम्मान समेत गरिएको थियो । भवन निर्माणकार्यसंगै भकिम्लीमा ठूला कार्यक्रमहरु सञ्चालन गर्ने गरी सभाहल निर्माण समेत गरिने भएको छ ।

विद्यालयको इतिहास..
वि.स २०१६ पुष २६ गते सत्यमान पुनको अध्यक्षतामा स्थापना भएको विद्यालयको स्थापनाकालमा साविकको भकिम्ली गाविस –५ रानीपधेरामा सञ्चालन गरिएको थियो । पहिरो र असुविधा भएपछि टिमुरे निवासी स्वर्गिय नारायण देवी रोकाले १ रोपनी जग्गा विद्यालयलाई प्रदान गरेपछि स्थानान्तर गरिएको थियो । पिपलकोबोट मुनीको चौतारीबाट विद्यालयको सुरुवात भएको स्थानीयको भनाई छ। बि.श २०२८ सालमा प्राविबाट निमावी तहमा स्तरउन्नती भएको विद्यालयले २०३३ सालमा सिमित दरवन्दी प्राप्त गरेको थियो । तत्कालिन विद्यालयका अध्यक्ष दल बहादुर घर्तीमगरको नेतृत्वमा विद्यालयले फड्को मारेको थियो ।

स्थापनाकाल देखी नै निकै संर्घष र जटिल समस्याका विच सञ्चालन हुदै आएको विद्यालयलाई स्वर्गाआश्रममा बस्ने इन्दिरा माताले २०५१ सालमा समुदायको चाहना अनुसार धनधान्याञ्चल महायज्ञमार्फत आर्थिक संकलन गरेपछि २०५४ बैशाख २५ गतेबाट माध्यामिक तह सञ्चालन गरिएको विद्यालयको अभिलेखमा उल्लेख छ ।सत्यमान पुन, मिन बहादुर घर्ती, दल बहादुर घर्ती, कविराम पुन, क्या वीर बहादुर रोका, इन्द्रा पुन, प्रेम बहादुर पुन, रत्न बहादर जिसी, पृथी प्रसाद पुन र पदमबहादुर पुनले विद्यालयको नेतृत्व गरेका छन् । विद्यालयमा भकिम्लीसँगै मंगला गाउँपालिका वडा नं ३ बरंजाको धापुङबाट समेत लगभग ३ घण्टाको पैदलयात्रा गरी विद्यार्थी अध्ययरत छन् ।