थम्मन थापा / बागलुङ आफैमा एक प्राकृतिक, सांस्कृतिक, धार्मिक अनि पर्यटकीय दृष्टीकोणले महत्व बोकेको छ । यहाँ थुप्रै पर्यटकीय गन्तव्यहरु पर्यटकको पर्खाईमा छन । कतै विकास निर्माण र पुर्वाधारले तिव्रता पाएको छ भनें कैयौं स्थानहरुमा निर्माणाधिन अवस्थामा छन ।

महत्वपुर्ण पर्यटकीय स्थलहरुको पुरातात्विक हिसाबले थप व्यवस्थापन र आवश्यक पुर्वाधार निर्माण अहिलेको आवश्यकता रहेको छ । पर्यटन प्रवर्दन मार्फत युवाहरुलाई आर्थिक समृद्विमा जोडनु पर्ने अहिलेको आवश्यकता हो । पर्यटनको महत्व र स्थानलाई पहिचान गरि पर्यटन क्षेत्रलाई फराकिलो बनाउन आवश्यक छ ।

पर्यटनका नाराहरु औपचारिकतामा सिमित नगरि आवश्यक प्रकृया र काम काज अगाडी बढाउन जरुर देखिन्छ । स्थानिय तह हुँदै प्रदेश सरकार र केन्द्रिय सरकारले जसरी अहिले पर्यटन क्षेत्रमा ठुलो लगानी गरेको छ त्यसलाई आम नागरिकले आ-आफनो भुमिका निर्वाह गरेमा मात्रै सरकारको लगानीले बल्ल सार्थकता पाउने छ । हामीले देश र जनताको समृद्विका निमित्त पर्यटन क्षेत्रमा उल्लेख्य काम गर्न आवश्यक छ ।
पर्यटन क्षेत्रमा भौतिक विकास भएर मात्रै पर्यटकको आगमनमा वृद्वि हुन सक्दैन त्यसको लागि प्रचार प्रसारले पनि उत्तिकै महत्वपुर्ण भुमिका खेलेको हुन्छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाईन पत्रिका र विभिन्न सामाजिक सञ्जालले प्रचार प्रसारलाई विश्वभर छिन भरमै सबै सामु पुर्याउदछ । यसै सिलसिलामा जिल्लाका पर्यटकीय स्थलहरु चिनाउन नेपाली चलचित्र बुकी निर्माण हुने क्रममा छ । जिल्ला भरका पर्यटकीय स्थलहरुलाई चलचित्र मार्फत प्रचार प्रसारमा ल्याउन उक्त चलचित्र निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक मोहन केसीले जानकारी दिए ।
पर्यटकीय गन्तव्यहरु बागलुङ कालिका मन्दिर, सर्व सिद्विधाम पञ्चकोट, गाजाको दह, घुम्टे लेक, गलकोट कोट मन्दिर, गलकोट दरबार, गाईघाट झरना, निलुवा, चमेरे गुफा, ढोरपाटन, तिलाचन ताल, रुद्रा ताल, भैरव स्थान, नरसिंहकोट सहित अन्य स्थलहरुलाई चलचित्रमा समावेश गर्न लागिएको केसीले बताए । चलचित्र निर्माण पुर्व महत्वपुर्ण गन्तव्य ढोरपाटन सिकार आरक्षणको स्थलगत अध्ययन कार्य गरिएको छ । नेपालकै एकमात्र सिकार आरक्षण ढोरपाटनमा लोकप्रिय नायिका सृष्टी खडका सँगै निर्माण समितिका पदाधिकारीहरु सहितको टिम ढोरपाटन पुगेको थियो ।
त्यहाँको बारेमा विस्तृत जानकारी लिन र स्थलगत अवलोकनको लागि टिम त्यहाँ गएको हो । टिमले ढोरपाटन उपत्यका, त्यहाँका स्थानियको जीवन शैली, बुकी क्षेत्र, त्यहाँ पाईने वनस्पति, जडीबुटी, जीवजन्तु र सिकारको बारेमा अध्ययन तथा स्थलगत अवलोकन गरिएको थियो । चलचित्रमा पर्यटकीय स्थल, घरबास (होम स्टे), बागलुङ जिल्लाका पर्यटकीय स्थल आसपासको रहनसहन, जीवनशैली र त्यहाँको विभिन्न पहिचानलाई झल्काउन अहिले गृहकार्य भईरहेको छ । बुकी चलचित्र निर्माण भएपछि देश तथा विदेशमा पर्यटकीय स्थलहरुको थप उजागर हुने र आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्वि हुने अपेक्षा चलचित्र निर्माण टिमले लिएको छ ।

Leave a Reply