म्याग्दीको बेनी नगरपालिका–४, थामडाँडामा बहुउद्देश्यीय खेलमैदान निर्माणको कार्य थालनी भएको छ । गाउँमा आयोजना गरिने विभिन्न मेला, महोत्सव, खेलकुदजन्य गतिविधिलगायत सामाजिक कार्य गर्दा खेलमैदानको अभाव भएपछि स्थानीयको सक्रियतामा खेलमैदान बनाउन लागिएको हो ।

चालु आर्थिक वर्ष २०७६÷७७ वडा कार्यालयमार्फत बेनी नगरपालिकाको कुल आठलाख रुपैयाँको आर्थिक सहयोगमा खेलमैदान निर्माण कार्य सुरु गरिएको निर्माण समितिले जनाएको छ । खेलमैदान निर्माणमा आर्थिक स्रोत जुटाउनका लागि यस वर्षको तिहार पर्वमा गाउँमा खेलिएको देउसी भैलोबाट नगद एकलाख रुपैयाँ सङ्कलन गरिएको खेलमैदान निर्माण समितिका कोषाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिएका छन् ।

उनका अनुसार थामडाँडा निवासी हाल एनआरएन न्युजील्याण्डका अध्यक्ष लालबहादुर केसीले दुईलाख रुपैयाँ सहयोग गरेका छन् । यसैगरी गणेश गुरुङ (गंगा)ले ८० हजार, भद्र गुरुङले ५० हजार सहयोग गरेकोमा आर्थिक सङ्कलन जारी रहेको बताइएको छ ।