म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिता न्यू वेस्ट पोइन्ट आवासीय मावि च्याम्पियन बनेको छ । शनिबार खुल्लामञ्चमा सम्पन्न भएको प्रतियोगितमा बुद्ध एकेडेमीलाई १–८ गोल प्रहार गदैं वेस्ट पोइन्टले उपाधी जितेको हो । प्रतियोगिताको सुरूवातमै बुद्ध एकेडेमीका खेलाडीले गोलपोष्ट नजिकैबाट आत्मघाती गोल गरेसँगै अग्रता लिएको वेष्ट पोइन्टलाई तत्कालै एक गोल फर्काउँदै बराबरी खेलेपनि बुद्ध एकेडेमीले बराबरीलाई लामो समयसम्म टिकाउन सकेनन् ।

विपक्षी खेलाडीलाई निगरानी नगर्दा बुद्धले लगातार गोल बेहोरेको थियो । प्रतियोगितामा वेष्ट पोइन्टबाट मनिष श्रेष्ठले ३ गोल, अमित तामाङ ३, आदित्य विक १ र निशान गौचनले १ गोल गरेका थिए भने बुद्ध एकेडेमीका क्याप्टेन नेत्र हुसेनले १ गोल गरेका थिए ।

रक्षात्मक र आक्रमक दुवैमा अगाडी देखिएका वेष्ट पोइन्टलाई रोक्न बुद्ध एकेडेमीका क्याप्टेन हुमेन लगाएतले प्रयास गरेपनि अन्य खेलाडीमा तालमेलको अभाव देखियो । प्रतियोगितामा लगातार तीनबर्ष च्याम्पियन बन्दै वेष्ट पोइन्टले मुख्य ट्रफी पच गरेको छ । प्रतियोगितामा विजेता न्यू वेष्ट पोइन्टले ट्रफि, मेडल, प्रमाण–पत्रसहित ५१ हजार र उपविजेत बुद्ध एकेडेमीले ट्रफि, मेडल, प्रमाण–पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कृत गरिएको थियो ।

सोही अवसरमा उत्कृष्ट खेलाडी बुद्ध एकेडेमीका नेत्र हुसेन, उत्कृष्ट डिफेण्डर न्यु वेष्ट पोइन्टका तेजिन घर्ती मगर, सर्वाधिक गोलकर्ता न्यु वेष्ट पोइन्टका मनिष श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक न्यु वेष्ट पोइन्टकै दिपेन राई, उत्कृष्ट मिडफिल्डर न्यु वेष्ट पोइन्टकै आदित्य विक, उत्कृष्ट स्ट्राइकर बेनी सामुदायिक माविका विजय छिनाल, गोलरक्षक न्यु वेष्ट पोइन्टका सञ्जन बराईली, राईजिङ प्लेयर बेनी सामुदायिक गौतम केसीलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र र अनुशासित टिम केबी एकेडेमीलाई सात हजार ७७७ रुपैया प्रदान गरिएको प्रतियोगिता संयोजक हरि भण्डारीले बताए ।

प्रतियोगिताको प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विनोद केसी, विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी, नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्म रहेका थिए ।

प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल जेसीजका पूर्व अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ म्याग्दी जेसीजका अध्यक्ष खम थापाले सम्मान गरेका थिए । प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष र प्रायोजकमा रारा हार्डवयर, रारा गुप्र र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको थिए ।

विज्ञापन