साउदी अरवको जेलमा रहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्ती अभियान विनोद रानाभाट बचाउ अभियानमार्फत ३ लाख सहयोग गरिने भएको छ । हत्याको आरोपमा ६ बर्षदेखि साउदी जेलमा रहेका निउरेको घर फिर्ती अभियानमा उक्त अभियानमार्फत ३ लाख सहयोग गर्ने निर्णय भएको सामाजिक अभियान्ता इशा गुरूङले जानकारी दिईन् ।

कतारमा भारतीय नागरिकको हत्या गरेको अभियोगमा जेल परेका चितवनका २२ बर्षिय विनोद रानाभाटको उद्धारमा संकलन गरिएको मध्येको रकमबाट म्याग्दीका निउरेलाई सहयोग गर्ने निर्णय भएको अभियान्ता गुरूङले बताईन् । ‘यो सहयोगको निर्णयले उत्साहित छौ,‘उक्त रानाभाट अभियानको हिसावकिताव पनि छिट्टै सार्वजनिक होस्’ गुरुङले भनिन् ।

२०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका निउरेका बारेमा पहिलोपटक बेनीअनलाइनले समाचार प्रकाशित गरेको थियो । बेनीअनाइनमार्फत समाचार सार्वजनिक भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीले आर्थिक सहयोग अभियानलाई तिब्रता दिएका छन् ।

मृतक वस्तीका परिवारले माग गरेको क्षतीपुर्ती रकम उपलब्ध गराएमात्रै निउरेलाई कानुनी प्रक्रियामार्फत नेपाल फिर्ता ल्याउन सकिन्छ । कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिकस्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी अरबमा पुगेका निउरे वस्तीको हत्याको आरोपमा तोकिएको पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै छन् ।

विज्ञापन