वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात भएको छ ।  भन्सार विभागका अनुसार आव ०७५र७६ मा एक लाख ७८ हजार क्विन्टल प्याज आयात भयो । यसरी आयात गर्दा देशले पाँच अर्ब ६२ करोड रुपैयाँ विदेश पठाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयात भएको छ । आयातको बढ्दो ग्राफलाई मूल्यांकन गर्दा चालू आर्थिक वर्षमा ६ अर्बको प्याज भित्रने अवस्था छ । विदेशी उत्पादनमा भर परेकाले नेपाली बजारमा पनि प्याजको मूल्य इतिहासमै उच्च बिन्दुमा पुगेको छ । १० मंसिरयता काठमाडौंका खुद्रा बजारमा प्रतिकेजी दुई सय ५० रुपैयाँमा कारोबार भएको छ ।

भारतीय बजार रक्सौलमा शनिबार प्याजको मूल्य प्रतिकेजी सय रुपैयाँ छ । तर, नेपाल भित्र्याउँदा भन्सार छलेर ३५ रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ । जब कि वीरगन्ज छिरेलगत्तै प्याज दुई सय रुपैयाँमा कारोबार भएको छ । काठमाडौं आउँदा खुद्रा बजारमा दुई सय ५० रुपैयाँसम्म पर्छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले वीरगन्ज भन्सार कार्यालयमा प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँ २० पैसा (२२ भारु) रहेको बताए । त्यसमा आयातकर्ताले १० प्रतिशत भन्सार मूल्य, पाँच प्रतिशत अग्रिम आयकर र पाँच प्रतिशत कृषि सुधार शुल्क तिर्नुपर्छ । ती कर समावेश गर्दा वीरगन्ज भन्सारमा प्याजको मूल्य प्रतिकेजी ४२ रुपैयाँ २४ पैसा हुन आउँछ ।

विज्ञापन