एजेन्सी । सधैँ एउटै समयमा जिम जाने गर्नुले हामीलाई लामो समयसम्म फिट र स्वस्थ रहन मद्दत गर्ने गरेको एक नयाँ अनुसन्धानले जनाएको छ । एकै समयमा एक्सरसाइज गर्दै जानुले हामीमा व्यायामको बानी बसाउने हुनाले नै यो तौल घटाउन र शरीर नियन्त्रणमा राख्न प्रभावकारी हुने बताइएको छ । बिहान, दिउँसो, बेलुका जतिबेला भए पनि एकै समयमा एक्सरसाइज गर्नुले हामीलाई लामो समय फाइदा गराउन सक्ने बताइएको हो ।

यसका लागि ३७५ वयश्कहरुमाथि अध्ययन गरिएको थियो जसले चार दिन र औसतमा ३५० मिनेटको एक्सरसाइज तालिका अपनाएका थिए । त्यसैगरी अर्को समुहले भने अस्थायी रुपमा अनियमित समयमा चार दिन त्यति नै एक्सरसाइज गरेका थिए ।

यसपछि वैज्ञानिकहरुले उनीहरु दुईको तुलना गरेका हुन् जसमा नियमित एउटै समयमा व्यायाम गर्नेहरुमा बिस्तारै यसको बानी पर्ने गरेको पाइएको हो तर अनियमित समय अपनाउनेहरुलाई चाहिँ शारीरिक क्रियाकलापमा सहभागी हुन संघर्ष गर्नुपर्ने देखिएको हो ।

एक्सरसाइजका अनेकौँ फाइदा भएपनि यसको बानी लगाउन धेरैलाई कठिन हुने गरेको पाइन्छ । स्वस्थ रहन हप्तामा डेढ घण्टा जति मध्यम देखि कठोर शारीरिक क्रियामा संलग्न हुन आवश्यक मानिन्छ भने लामो समयसम्म तौल नियन्त्रणमा राख्न र तौल घटाउन पनि हप्तामा २५० मिनेट एक्सरसाइज गर्नैपर्ने विशेषज्ञहरुको भनाइ छ ।

यसअघिका विभिन्न अनुसन्धानहरुमा पनि ठीक्क तौल राख्न सक्नेहरुले एउटै किसिमको डायट र एक्सरसाइज सहजै अपनाउन सक्ने गरेको पाइएको थियो । यसरी मानिसमा एक्सरसाइजको बानी बस्यो भने त्यसप्रति हामीले धेरै ध्यान दिनु् र सोचिरहनुपर्दैन अनि पहिलोपटक जस्तो त्यसमा लागि पर्न धेरै प्रयास र प्रेरणा पनि आवश्यक पर्दैन । डेलीमेलबाट

Leave a Reply