बंगलादेशमा सेन्ट्रल जोन भलिबल खेलेर आएपछि मेरो दैनिकी फेरिएको छ । कतिबेला सम्मान थाप्न पुगिरहेको हुन्छु र कतिबेला अन्तर्वार्ता दिइरहेको हुन्छु टुंगो हुन्न । म मात्रै होइन, हाम्रो सिंगो टिमको अवस्था यही हो । हामीले पाएको सम्मान र सबैतिर भइरहेको ‘सेलिब्रेसन’ एक हिसाबले स्वभाविक पनि हो ।

हामी (महिला भलिबल)ले पहिलो पटक अन्तराष्ट्रिय स्वर्ण पदक जितेको हौं । सेन्ट्रल जोन आफैंमा एउटा कठिन प्रतियोगिता थियो । सहभागी टिमहरु पनि राम्रै थिए । र, हामीले हरेक टिमलाई हराएका थियौं ।यो सफलतामा हामी पनि खुसी छौं । तर यो खुसीले हामीलाई पुग्दैन । घरेलु मैदानमा साग हुँदैछ । राम्रा टिमहरु आउँछन् । यसमा राम्रो रिजल्ट ल्याउन सक्यौं भने चाहिँ हाम्रो सपना पुरा हुनेछ । घरेलु मैदानमा भएको सागमा गोल्ड मेडल जित्नुभन्दा ठूलो खुशी के होला र ?

काठमाडौंबाट ढाका उड्दै गर्दा कुन टिम कस्ता छन् भन्ने धेरै जानकारी थिएन । तर फाइनल चाहिँ खेल्छौं भन्ने विश्वास थियो। किनकी सागका लागि लामो समयदेखि अभ्यासमा थियौं । थाइल्याण्डमा पनि तीन साता अभ्यास र एक्पोजर म्याच खेल्न पायौं । यसले नयाँ खेलाडीहरुमा आत्म विश्वास बढाएको छ । नयाँ–पुराना सबै खेलाडीहरुबीच गजबको तालमेल देखिन थालेको छ । जब हामी ढाका पुग्यौं र अरु टिमको अभ्यास खेल हे¥यौं, मैले मनमन सोचेँ, स्वर्ण त हाम्रै हो ।मलाई मात्र होइन, हामी उपाधि जित्छौं भन्ने टिमका अरु साथीहरुलाई पनि लागेको रहेछ ।

यसको अर्थ त्यहाँ आएका टिम नराम्रो थिए भन्ने खोजेको चाहिँ होइन । तर उनीहरुको भन्दा हाम्रो स्तर राम्रो भएका कारण उपाधि जित्छौं भन्ने लागेको हो ।प्रतियोगिता सुरु भयो । हाम्रो पहिलो खेल अफगानिस्तानसँग थियो । यो खेल हामीले एकपक्षीय रुपमा जित्यौं । दोस्रो खेलमा कीर्गिस्तानलाई हरायौं । यो खेल भने केही प्रतिस्पर्धात्मक रह्यो । तेस्रो खेलमा बंगलादेशलाई हरायौं । उसले कुनै सेटमा हामीलाई डराउनुपर्ने गरी चुनौती दिन सकेन ।

समूह चरणको अन्तिम खेल अगाडि हामीसँगै माल्दिभ्स फाइनलमा पुगिसकेको थियो । त्यसैले समूह चरणको अन्तिम खेल फाइनलको प्रिभ्यू जस्तै रह्यो । पहिलो सेटमा उसले केही चुनौती दिएकै हो । तर त्यसपछि अगाडि बढेका हामीलाई रोक्न सकेन । २८ कात्तिकमा फाइनल खेल थियो । घरेलु टोली फाइनल खेलिरहेको नभए पनि दर्शकको राम्रो उपस्थिति थियो ।सूमह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई हराएका हामीलाई हारिएला कि भन्ने त लाग्दै लागेन ।

यदि तपाईले फाइनल खेल हुर्नु भएको थियो भने हाम्रा हरेक सदस्यको आत्मवल कति बलियो थियो भन्ने महसुस गर्नुभयो होला । ठूलो अन्तरमा जित्ने हाम्रो ध्याउन्न थियो । हामीले २५–१३, २५–१४ र २५–१२ को सेटमा फाइनल मात्र जितेनौं, पहिलोपटक देशलाई स्वर्ण दिलायौं ।खेलमा हारजित स्वाभाविक हो, तर हार भनेको जहिले पनि हार नै हुन्छ । चाहे एक अंकले मात्र किन नहोस् । अनि जित भनेको जित नै हो, त्यो जति कम अन्तरमा किन नहोस् ।तर योपटक हामीले खेल मात्र होइन स्वर्ण जितेका हौं । त्यो पनि हरेक टिमविरुद्ध प्रभावशाली प्रदर्शनका साथ । यसले हाम्रो टिममा सकारात्मक प्रभाव परेको छ । उच्च मनोबलका साथ अब सागमा भिड्नेछौं ।

त्यहाँ हाम्रो लक्ष्य स्वर्ण नै हो ।सेन्ट्रल जोनमा पाएको सफलताले हामीप्रति अपेक्षा पनि जगाएको छ । यदि सागमा राम्रो गर्न सकेनौं भने नराम्रो सन्देश जान्छ भन्ने दबाव पनि हामीमा छ । तर, हामी उत्साहित छौं ।सागमा हाम्रै मुख्य प्रतिस्पर्धी भनेको भारत र श्रीलंका हुन् । दुबै देश हाम्रा लागि नयाँ प्रतिस्पर्धी होइनन् । विगतमा हामीमा देखिएको कमीकमजोरी सुधार पनि गरेका छौं । उनीहरुको हाइट एड्भान्टेज बढी छ, त्यही कारण ब्लक कमजोर हुँदा हामीले हारेका थिर्यौ । अहिले त्यसमा हामीले सुधार गरेका छौं ।सर्भिर रिभिलहरु पनि राम्रो भएको छ र, सागमा कुनै पनि टिमलाई हराउन सक्छौं भन्ने छ ।

किनकी लामो समयको अभ्याससँगै म्याच अनुभव पनि हासिल गरेका छौं । हाम्रो आफ्नै घरेलु मैदान भएकाले सतप्रतिशत दिन सक्छौं भन्ने विश्वास छ ।यो त भयो, जितेको स्वर्ण र जित्न चाहेको स्वर्णको कुरा ।अब तपाईहरुलाई केही आफ्नो कुरा सुनाउँछु । धेरै जना मोजाको बल खेल्दै हुर्किनु भएको होला । कतिले त क्रिकेटको ब्याट समाउने अवसर पनि पाउनु भयो होला । तर मैले चाहिँ बाल्यकालमा भलिबल र बास्केटबल मात्रै खेलेँ ।

Skipper Aruna Shahi holds the national flag as she poses for the group photo with her team members and officials at a farewell programme, in Kathmandu on Tuesday. Photo: THT

मेरो घर पहाडी जिल्ला म्याग्दी हो । भौगोलिक कारणले गर्दा त्यहाँ फुटबल–क्रिकेट खेलिदैनथ्यो । भलिबल र बास्केटबल चाहिँ खेलिन्थ्यो । मैले पनि स्कुले जीवनमा दुबै खेल खेलेँ ।एउटा प्रतियोगितामा मलाई भलिबलतिर मोड्यो ।यो ०६४ सालको कुरा हो । वीरेन्द्र सिल्ड खेल्दा मेरो खेलबाट गुरुहरु प्रभावित हुनुभएछ । खाने, बस्ने र पढ्ने सबै जिम्मा लिएर मलाई ज्ञानुबाबा स्कुल, पोखरामा ल्याउनुभयो । त्यहाँ नियमित ट्रेनिङ लिएपछि मेरो खेल पनि सुधार हुँदै गयो ।

त्यसपछि म भलिबलमै रमाउन थाले । ११र१२ वर्षदेखि लगातार भलिबलमै छु ।यो अवधिमा थुप्रै उतार चढाव आए । त्यसमा समयमै अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्न नपाएको कुराले मलाई बेलाबेला घोच्छ । जतिबेला हामी (ज्ञानुबाबा) उत्कृष्ट टिम थियौं, त्यसबेला महिला भलिबलमा अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरु नै भएनन् । २०१२र१३ पछि बल्ल अन्तर्रा्ष्ट्रिय प्रतियोगिता हुन थाले । त्यसैले पहिल्यै अन्तराष्ट्रिय प्रतियोगिता खेल्न पाएको भए राम्रो गर्न सक्थ्यौं भन्ने लाग्छ । तर जे हो,भलिबल रोजेकोमा कुनै पश्चाताप छैन । सुरुवाती दिनहरुमा सर्पोट नगर्ने परिवारको साथ पाएको छु । बंगलादेशमा स्वर्ण जित्दा पनि उहाँहरु खुसी हुनुभयो ।

भेट्न जान त पाएको छैन तर फोनमा हजुरबुवा, बुवा, आमा, दाइ, भाउजुसँग कुराकानी भयो । उहाँहरुले अझै राम्रो गर्दै जाऊ भन्नु भएको छ ।बेलाबेला परिवारबाट सुरुमा नै राम्रो सपोर्ट भएको भए अझ राम्रो गर्न सक्थेँ होला भन्ने लाग्छ । तर आज जस्तो साथ पाएको छु, त्यसमा नै खुसी छु ।हरेक खेलाडीको सपना हुन्छ, अन्तर्रा्ष्ट्रिय मञ्चहरुमा देशको प्रतिनिधित्व गर्ने, मेडल, जित्ने, कप्तान बन्ने । तर कतिको पूरा हुन्छ, कत्तिको सपना सपनामै सीमित हुन्छ ।तर मैले भने आफैं एकपछि अर्को सपना पुरा गर्न पाकेँ । ढिलै भए पनि अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेले । कप्तान पनि बने । र, कप्तानी सम्हालेलगत्तै नेपाललाई पहिलो अन्तर्रा्ष्ट्रिय स्वर्ण दिलाउन सकेँ ।

यसर्थ आफूलाई लक्की पनि ठान्छु ।एकदमै सहयोगी टिम पाएको छु, प्रशिक्षक, भलिबल संघ सबैको साथ पाएको छु ।सुरुमा भलिबल टिममा हेरफेर हुँदा बाहिर धेरै कुरा भयो । तर हामीलाई थाहा थियो कि कुन खेलाडीले कस्तो खेल्छ । त्यसैले हामी खेलमा मात्र केन्द्रित भयौं । आज परिणामले पनि त्यसलाई पुष्टि गरेको छ । र, यो सुरुवात मात्र हो । अनलाइनखबर डटकमबाट साभार

विज्ञापन