बंगलादेशको ढाकामा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको ट्रफी उपाधी जितेको नेपाली महिला भलिबल टोलीको नेतृत्व म्याग्दी जिल्लाको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाहीले गरेकी छन् । नेपाली पुरुष भलिबलमा निकै कमजोर देखिएको अवस्थामा महिला भलिबल टोलीको खेलले नेपाललाई आसा दिलाएको छ ।

भलिबलमा पहिलोपटक अन्तराष्ट्रियस्तरको उपाधी जित्न सफल नेपाली टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा भलिबलमा स्वर्ण पदक जित्न मंगलबार भारतसँग भिड्दैछ । पहिलोपटक रजत पदक पक्का गरेको नेपाली महिला टोलीले आफ्नै घरेलु मैदानमा स्वर्णपदक कब्जा गर्ने रणनीति बनाएको छ । तुलनात्मक रूपमा बलिया मानिने भारतसँग पराजित भएपनि अर्को बलियो श्रीलङ्कालाई पराजित गरेको नेपाली टोलीले फाइनल खेलमा सानदार खेलको अपेक्षा गरिएको छ ।

अन्तराष्ट्रियस्तरको उपाधीको खडेरी तोडेपनि साकमा स्वर्ण पदक नै आफ्नो लक्ष्य रहेको क्याप्टेन शाहीको भनाई छ । ‘सेमिफाइनलको खेलले उर्जा थपिएको छ,‘अत्मिन शक्ती फाइनलमा देखाउँछौ’ शाहीले भनिन् । भारतसँग सोझो सेटमा पराजित भएपनि विगतका खेलमा श्रीलंकासँग समेत नेपाली टोली निरिह हुनुपर्ने अवस्थालाई यसपटक तोड्न सफल भएको छ । सामुहिक मेहनत र प्रशिक्षकको साथले खेलाडी हौसिएका छन् ।

घरेलु समर्थकले खचाखच भरिएको अवस्थामा दरिलो आत्मविश्वास सहित मैदानमा उत्रिने भलिबल टोलीले अर्को अन्तराष्ट्रियस्तरको उपाधी जित्ने अपेक्षा गरिएको छ । हरेक खेल सुधारिदै आएको अवस्थामा फाइनलमा भारतलाई उपविजेतामै घर फर्काउने तयारीमा छ । नेपाली टोलीमा शाहीसँगै म्याग्दीको मालिका गाउँपालिका वडा नं ३ की कमला पुन समेत मैदानमा देखिने छन् ।