जेनिशा पुरी /पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको न्यु होराइजन आवासीय माविले चौथो होराइजन फाइभ ‘ए’ साइड फुटबल प्रतियोगिताको आयोजना गरेको छ । विद्यालयमा गठित स्पोटर्स क्लवको आयोजनामा आगामी मंसिर २४ देखि २७ गतेसम्म विद्यालयको खेलकुद सप्ताहको अवसर पारेर आयोजित प्रतियोगितामा म्याग्दी र पर्वतका विभिन्न विद्यालयले सहभागिता जानाउने क्लवका अध्यक्ष विभोद केसीले बताए ।

मंगलबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा विद्यालयले खेलकुदमार्फत सामुदायिक तथा निजी विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान सहित सहकार्यका लागि निरन्तर प्रतियोगिता गर्ने प्रधानध्यापक अर्जुन पौडेलले बताए । उनका अनुसार प्रतियोगितामार्फत विद्यार्थी बीचको सहकार्य र एकतालाई समेत प्रभावकारी बनाउने, खेलकुदमार्फत विद्यालय बीचको सहकार्य समेत थप बलियो हुने अपेक्षा गरे । प्रतियोगितामा म्याग्दीको मालिका गाउँपालिकासम्मका विद्यालयले सहभागिताको प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै पर्वतका विभिन्न स्थानीय तहमा रहेका विद्यालय समेत आउने अपेक्षा गरिएको छ । नव उत्साही समूह वारीबेनी अफिसीयल सहयोगी रहेको प्रतियोगिताको सन्तोष खत्रीको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । पत्रकार सम्मेलन सहित प्रतियोगिताको जानकारीका लागि आयोजित कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक हेमन्तबम थापाले विद्यालयले प्रतियोगितालाई थप ब्यवस्थित गदैं लैजाने बताए ।

पत्रकार सम्मेलनमा विद्यालयका सञ्चालक एवम् लेखा संयोजक शेषराज रेग्मी, राम पौडेल लगाएतको उपस्थिती रहेको थियो। हालसम्म पहिलो बेनी सामुदायिक, दोस्रो वुद्ध एकेडेमी बिजयी भएका थियो भने डिफेन्डिङ च्याम्पियन प्रकाश मावि रहेको छ । प्रतियोगितामा बिजेता र उपबिजेतालाई रनिङ कप, ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यस्तै अनुशासित टिमलाई नगद तथा उत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र गोलरक्षकलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने न्यु होराइजन स्पोटर्स क्लवले जनाएको छ ।

विज्ञापन