युट्युब च्यानलको कमाई राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

युट्युब च्यानलबाट गरेको कमाईलाई इजरायलमा रहेको एक समुहले ‘राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ । नेपाली वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको केन्द्रलाई ‘रमाइलो छ संसार’ नामाक च्यानलबाट प्राप्त कमाई मध्येको ४० हजार रुपैयाँ च्यानलका सञ्चालक धनु काउचा मगरले केन्द्रका अध्यक्ष पुनलाई हस्तान्तरण गरेका हुन् ।

काउचा मगर, चित्र जुग्जाली मगर, बिबश आले मगर, लाल दुरा, समिर छन्त्याल सहितका यूवाहरुले मनोरञ्जन तथा जानकारीमुलक कार्यक्रमरु राखेर च्यानल सञ्चालन गरेका थिए । ‘पैसा कमाउन नभई रमाईलोका लागि युट्युब च्यानल खोलेका थियौ,‘केही पैसा पनि कमाई भएपछि सामाजिक कार्यमास सहयोग गरौं’ मालिका गाउँपालिका–७ बिमका चित्र जुग्जालीले भने । उनका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई मनोरञ्जन सहित जानकारीमुलक गतिविधि सञ्चालन गर्ने गरिए च्यानल खोलेको अवस्थामा कमाई भएपछि पहिलो सहयोग आविष्कार केन्द्रलाई सहयोग गरेको बताए।

रमाईलो छ संसार च्यानलबाट आएको आर्थिकले भविस्यमा पनि विभिन्न क्षेत्रमा सहयोग गर्ने बताए । इजरायलमा फुर्सदको समयमा च्यानलमार्फत विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । सरकारी दैलोमा धाउँदा पटकपटक आश्वासन बाहेक केही नपाएपछि सर्वसाधारणको सहयोगमा स्थापना गरेको अवस्थामा निरन्तर सहयोग प्राप्त भइरहेको बताए । सोही अवसरमा केन्द्रका अध्यक्ष पुनले धनले मात्रै केन्द्रको अभियान पुरा नहुने भन्दै सीप भएका युवा उद्यमीलाई प्रोत्साहित गर्ने बताए ।

‘आविस्कार केन्द्रसँग सहकार्य गर्न शैक्षिक योग्यताभन्दा पनि नयाँ सोचको आवश्यकता रहेको छ,‘सहयोगलाई नेपालीको सपना पुरा गर्ने अभियानमै प्रयोग गर्छु’ पुनले भने । केन्द्रमार्फत अहिले काठमाण्डौ बाहेक पोखरा, चितवन लगाएत विभिन्न जिल्लामा काम गरिरहेको बताए । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ नाँगीमा जन्मिएका पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार सहित दर्जनौ सम्मान प्राप्त गरेका छन् ।