प्रेस सङ्गठन म्याग्दीमा खत्री र बानियाँ

प्रेस सङ्गठन नेपाल जिल्ला शाखा म्याग्दीमा पत्रकारद्वय कमल खत्री संयोजक र प्रताप बानियाँ सहसंयोजकमा चयन भएका छन् । प्रेस चौतारी म्याग्दी र प्रेस सेन्टर म्याग्दीको बुधबार सदरमुकाम बेनीमा सम्पन्न संयुक्त भेलाबाट खत्रीको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमिति सदस्यहरुमा अमित विश्वकर्मा, धिरन खत्री, श्रीकृष्ण भूषाल, बामदेव रिजाल, पदम विश्वकर्मा, भूपेन बानियाँ, समिर रोका, सन्दीप शर्मा, शिव बोहोरा, ममता बराईली र प्रिया कार्की रहेका छन् । भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका प्रचार विभाग प्रमुख बालकृष्ण सुवेदीले राज्यको चौथो अङ्ग सञ्चार क्षेत्रविना संसार अधुरो हुने बताए ।

नेकपाको जिल्ला नेता समेत रहेका प्रवक्ता सुवेदीले पत्रकारितामा विश्वसनीयता र तथ्यपरक समाचार सम्प्रेषण गर्न आग्रह गर्दै सङ्गठनमा आबद्ध पत्रकारहरुलाई क्रियाशिल रुपमा सञ्चार क्षेत्रमा लाग्न सुझाव दिएका छन् । उनले वर्तमान नेकपा नेतृत्वको सरकारले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रलाई थप परिस्कृत र नयाँ योजनासहित अगाडि बढाएको भन्दै स्थानीय सरकारका सबैखाले गतिविधिलाई सञ्चारमाध्यमबाट बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

भेलामा नेकपा म्याग्दीका सचिवालय सदस्य एवं श्रम तथा रोजगार विभाग प्रमुख सुरत केसी, साविक प्रेस चौतारी म्याग्दी शाखाका निवर्तमान अध्यक्ष डिपी शर्मा र प्रेस सेन्टरका जिल्ला अध्यक्ष कमल खत्रीले मन्तव्य राखेका थिए । प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्यद्वय प्रकाश पौडेलको अध्यक्षता र सन्तोष गौतमको सञ्चालनमा सम्पन्न भेलामा प्रेस चौतारी म्याग्दी शाखाका संस्थापक अध्यक्ष तारानाथ शर्मा, प्रेस सङ्गठन नेपालका केन्द्रीय लेखा आयोग सदस्य अमृत बास्कुने र पत्रकार महासंघका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद आचार्य लगायतको आतिथ्य रहेको थियो ।