१३ औं दक्षिण एशियाली खेलकुद (साग)ले यति बेला नेपालको माहोल निकै नै तातिरहेको छ । सागको उद्घाटन पनि सरकारले धुमधामका साथ गर्न सफल भयो । २०७२ सालको भूकम्पले भत्काएको काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालाको संरचना ४ वर्ष बित्दा पनि बन्न सकेको थिएन । तर, सागका लागि रंगशाला तयार पार्न पछिल्लो १ महिना सरकारले निकै नै कशरत र रातारात काम गरेर रंगशाला तयार गर्‍यो र सागका खेलहरु संचालन गर्न सफल भयो ।

भूकम्पले भत्काएको रंगशालामा हतार हतार गरेर भएपनि नयाँ सिट, नयाँ डिस्प्ले, नयाँ लाइट लगायत राखेर चिटिक्क परियो । सागको उद्घाटन हुनुभन्दा केही दिन अगाडि मात्र रंगशाला पूर्ण रुपमा सजियो । र हेर्दा लाग्थ्यो नेपालले पनि एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला भन्न सुहाउँदो रंगशाला पायो ।

तर बिडम्बना हतार हतार गरेर सरकारले बनाएको रंगशालाका संरचना नेपाली जनताले हतार हतार गरेर नै बिगार्ने छाँटकाट देखाए । अहिले सामाजिक सञ्जालमा केही फोटो र भिडियो नै सार्वजनिक भइरहेका छन्, जसमा मानिसहरु सिटमा टेकेर हिँड्ने, सिटमा टेकेर उभिएर खेल हेर्ने देख्न सकिन्छ । सिटमा जुत्ताको डामै डाम देख्न सकिन्छ । हुँदा हुँदा सिट नै भाँचिएको पनि फोटो सार्वजनिक भइसकेको छ ।

हुन त राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले साग सुरु हुनुभन्दा केही दिन अगाडि मात्र रंगशालाका सिट जसले भाँच्छ त्यसैले तिर्नुपर्छ समेत भनेका थिए । के अब त्यो सिट भाँच्ने मानिसलाई समातेर कारबाही गर्ला सरकारले ? सामाजिक सञ्जालमा पनि यी र यस्तै प्रश्न उठिसकेका छन् ।

सरकारले हतार हतारमा रंगशालाका संरचना बनाउँदा केही कमशल सामग्री पनि प्रयोग गरेको समाचार पनि यसअघि थुप्रै सञ्चारमाध्यममा आइसकेका छन् । तर, सरकारले कमशल राखेपनि ती संरचनाको जगेर्ना गर्ने काम त पक्कै नेपाली जनताकै होला । यदि आफै बसेर हेर्ने सिट आफै भाँचेपछि अर्को पटक के मा बसेर हेर्न पाइन्छ र ? यति सामान्य ख्याल त सबैमा हुनुपर्ने हो ।

नजिकिँदै गरेको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन पनि सरकारले दशरथ रंगशालामा नै गर्ने भएको छ । यहि अनुसार हेर्ने हो भने भ्रमण वर्षको उद्घाटन गर्न पनि सरकारले रंगशालामा पुनः नयाँ संरचना बनाउनु पर्ने देखिन्छ । हामी जनताले नै संरचना नबचाउने हो भने सरकारले जति नै ठाउँमा नयाँ भौतिक संरचना बनाए पनि त्यसको केही औचित्य रहन्न ।

सरकारलाई मात्र हरेक कुरामा गाली गर्नु भन्दा आफुले पनि आफ्नो पक्षबाट सरकारलाई केही सहयोग गर्ने कि ? ढिलै भएपनि सरकारले पुनर्निर्माण गरेको संरचनाहरुलाई हामी जनताले नै जोगाएर राख्ने बानी पार्ने कि ? यदि हामी जनता नै नसच्चिने र यहि किसिमले रंगशालाका संरचना बिग्रिँदै जाने हो भने पक्कै पनि रंगशाला पुनः भूकम्पले क्षति पुर्‍याएकै जस्तो अवस्थामा आउँछ । जुन देशकै अन्तर्राष्ट्रिय स्तरमा साख गुम्नु हो । Source: avenues.tv

तस्वीर : सामाजिक सञ्जाल