राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले गाईपालन र गाईको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको छ । आज पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा आयोजना गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट ज्ञानमहायज्ञ एवं गौ–महोत्सवको उद्घाटन गर्दै उहाँले गाईपालनमा ध्यान दिनुपर्ने बताउनुभयो । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले गाईपालनले संस्कार, परम्परा र धर्मको समेत संरक्षण हुने भएकाले गाईपालन धार्मिक र जैविक हिसाबले महत्वपूर्ण रहेको बताउनुभयो।

हिन्दु धर्मावलम्बीहरुको लागि गाई जन्मदेखि मृत्यु सम्म नै अति आबश्यक जनावर मानिने भएपनि लोप हुन लागेकाले संरक्षणमा राज्यले नै सक्रियता देखाउनुपर्ने बताउनुभयो। उहाँले गौशाला निर्माणका साथै आफूले घरमा पालेका गाईलगायत जनावरको संरक्षणमा पनि ध्यान दिन स्थानीयवासीलाई सुझाव दिनुभएको छ । घरमा पालेका गाईबस्तुलाई सहरबजारमा छोड्नुलाई समेत अपराध भएको बक्ताहरुको भनाई छ ।

पछिल्लो समय गाईपालन हराउँदै जान थालेको हुँदा लोप हुने अवस्थामा पुगेकाले गाईको संरक्षण गर्नुपर्ने उहाँको भनाइ छ । कालाञ्जर पर्वतको विकासका लागि गौशालालाई पनि जोडेर अगाडि बढाउनुपर्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सीनाले कालाञ्जर क्षेत्रको धार्मिक र पर्यटकीय विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । अहिलेको सरकारले देश विकासको गतिलाई अगाडि बढाएको भन्दै उहाँले आर्थिक, सामाजिक र भौतिक विकास गरी देश विकासमा तीव्रता दिनुपर्ने बताउनुभयो । वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई आत्मसाथ गरेर समृद्धि सुखी र खुशीमा परिणत हुनुपर्ने अध्यक्ष तिमिल्सीनाको भनाइ छ ।

सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पछिल्लो समय गाई लोप हुने अवस्थामा पुगेपनि पशुपालनतर्फ गाईको ठूलो महत्व रहेको बताउनुभयो ।उहाँले कालाञ्जर पर्वत क्षेत्रलाई विश्व सम्पदा सुचीमा समावेश गर्नका लागि आफूहरुले पहल गरिरहेको बताउँदै यसको विकास र प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको बताउनुभएको छ । गण्डकी गोपाल गौशाला जलजला–७, धाईरिङ मिलनचोकको आयोजनामा सुरु भएको गौ–महोत्सव आउँदो २६ गतेसम्म सञ्चालन हुने भएको छ ।

विज्ञापन