रघुगंगा गाउँपालिका–२ भगवतीका राजकुमार परियार र अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाकी ममता गर्बुजा तेक्वान्दोका खेलाडी हुन् । तेक्वान्दो खेलमा दुबै म्याग्दीका लागि पदकधारी खेलाडीको रुपमा चिनिन्छन् । २०७० सालमा तेक्वान्दो खेलको सिलसिलामा भेट भएका परियार र गर्बुजाले जिल्ला, क्षेत्रीय तथा राष्ट्रियस्तरको खेलमा थुप्रै पदक जितेका छन् । खेलमा संघर्ष र अभावका धेरै अनुभव बटुलेका परियार र गर्बूजाले खुट्टा र हातले हान्ने खेलमा संगसँगै सहभागी हुने क्रममा दुवै नजिक भए । एउटै मैदानमा धेरैपटक अभ्यास खेलेका छन् । खेलमा परियारको नजिक सधै गर्बुजाको आँखामा ठोकिन्थ्यो । खेल खेल्दै गर्दा धेरैपट आँखा जुध्न थालेपछि दुवै नजिक भए ।

म्याग्दी, कास्की र काठमाण्डौमा सम्पन्न विभिन्न खेलमा सँगै यात्रा गरेका दुवैको मनमा प्रेम टुसाएको थियो । पेशा एउटै भएपनि गर्बुजाको मायाँमा परियार फसेका थिए । चिनजान भएको पाँचबर्षपछि परियारले गर्बुजालाई प्रपोज गरे । गर्बुजाले पनि आफ्नो मनभित्रै बुनेर राखेको प्रस्तावलाई स्वीकार गरिन् । खेलाडीहरूले समेत दुवैको हिमचिमलाई प्रेम सम्बन्धका रुपमा चर्चा गर्ने गरेपनि मौन बस्ने गरेका थिए।

खेलकुदमा प्रेम जोडीका रुपमा चिनिने परियार र गर्बूजाले कालिपुलको कर्वड हलभित्रको एक दिनको कुराकानीलाई करिब तीनबर्षको प्रेमसम्बन्धको यात्रालाई सेफ ल्यान्डिङ गराउन सफल भए । केहीबर्ष आफ्नो प्रेम सम्बन्ध लुकाउन सफल भएपनि अन्ततः दुवैले एक अर्कालाई जीवन साथीको रुपमा स्विकार गर्दै विवाह गरे ।

खेल जीवनससँगै झाँगिएको प्रेमजीवनलाई एकबर्ष अगाडी विवाहको मोडमा पुर्याएपछि मात्रै आफन्त र साथीहरुले चाल पाएका थिए । ‘मेरो प्रस्तावले खेलमा स्वर्ण पदक जितेजस्तै भयो,‘हामी खेलसँगै मन साटासाटमा समेत स्वर्ण पदक विजेता भयौं‘ परियारले भने । उनले खेलसँगै मन साटासाट गरेको क्षणहरुको सम्झना अझै पनि ताजा रहेको बताए ।

गाउँबाट सदरमुकाम बेनीमा शिक्षाका लागि झरेका दुवैले मनको बह साटासाट गर्ने माध्यम खेलकुद भएको बताउँछन् । ‘एकअर्काको खेल पनि मनपथ्र्यो,‘खेलसँगै मन पनि एक भयो’ गर्बुजाले भनिन् । उनले खेलकुदसँगै सहारा बनेर जीवन विताउने निधो गरेसँगै केही असहज परिस्थतीलाई समेत सामाना गरेको बताईन् ।

अन्तरजातिय विवाह..
अझैपनि समाजले स्वीकार गर्न नसकिरहेको अन्तरजातिय विवाह गरेका परियार र गर्बुजाको जीवन सुखी मात्रै छैन् । समाजमा एउटा उदारणीय पात्र बन्न संघर्षरत छन् । सुन्दर जीवनयापन गरिरहेका दुवैलाई परिवारमा केही असहज भएपनि समाजले स्वीकार गरेको छ । २१ औं सताब्दीमा रुढीबादी कु–संस्कार अन्त्य गर्न सफल भएको भन्दै खेलकुद क्षेत्रमा उनीहरुको प्रशंसा गर्ने गरिन्छ । परियारले बेनीकै माउण्ट एभरेष्ट आवासीय माविमा खेल शिक्षकको रुपमा कार्यरत छन् भने गर्बुजाले समेत आफ्नो शिक्षासँगै खेलकुदबाटै आत्मनिर्भर बन्ने दाउमा छिन् । उनीहरुले जीवन जिउन आवश्यक पर्ने मार्गहरू तय गरिसकेका छन् ।

गुज्रेको मानिसले नै जीवनमा सही अर्थमा सफलता हात पार्न सक्छ। तेक्वान्दो खेल्दा खेल्दै परियार प्रशिक्षक समेत भएका छन् । उनले जिल्लामा हुने सार्वजनिक महत्वका उत्सव तथा खेलकुदमा प्रर्दशन गर्ने खेलबाट धेरैले आनन्द लिन्छन् । ‘रगत सबैको रातो हुन्छ, मान्छे सबै एउटै हो’ गर्बुजाले भनिन् । उनले खेलबाट जिन्दगीको नयाँ यात्रा सुरु गरेपनि खेलकुदसँगै आर्थिक रुपमा आत्मनिर्भर बन्न धेरै योजनाहरु बुनेको बताईन् । उनले खेलकुदमार्फत देशका लागि समेत पदक ल्याउने गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा खेल्ने गरी अभ्यास गरिरहेको बताईन् ।

तेक्वान्दोमा पदकै पदक
ममताले सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक जितिन् । आठौ राष्ट्रिय खेलकुदमा काँस्य, तनहुँमा सम्पन्न क्षेत्रीयस्तरको खेलमा स्वर्ण, राष्ट्रिय महिला तेक्वान्दोमा स्वर्ण पदक जितेकी छन् । उनीसँग जिल्लास्तरमा भएको खेलहरुमा जितेका पदकहरु कोठैभरी छन् । हरेक प्रतियोगितामा रित्तै घर नफर्किने गर्बुजाले अन्तराष्ट्रियस्तरको खेलमा पदक जित्ने खेल जीवनकै ठूलो सपना छ ।

त्यस्तै खेलाडीसँगै प्रशिक्षण, नृत्य लगाएतका अतिरिक्त क्रियाकलापमा समेत अब्बल परियारले तेक्वान्दोमा समेत धेरै पदक हात पार्न सफल भएका छन् । उनले संकटा राष्ट्रिय तेक्वान्दोमा स्वर्ण, प्रदेशस्तरीय खेलमा स्वर्ण, आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत र प्रथम दुलुङ तेक्वान्दोमा स्वर्ण पदक जितेका छन् । गण्डकी प्रदेशबाट समेत उनील धेरै खेलमा सहभागीता जनाएका छन् ।