प्राविधिक ज्ञान र उपकरणको अभावमा उत्खनन गर्न नसकिँदा म्याग्दीको भीरपाखामा पाइने शिलाजित अलपत्र परेको छ। आयुर्वेदिक औषधीका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य शिलाजित उत्खननमा हालसम्म सम्बन्धित पक्षको ध्यान नपुगेको हो। बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा शिलाजित खेर गइरहेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जनाएको छ।

म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, विमलगायतका पहरामा शिलाजित पाइन्छ। उत्खनन गर्न नसक्दा वर्षेनी करोडौं रुपैयाँबराबरको शिलाजित खेर गईरहेको र आफुहरु निराश भएको बेनपा २ ज्यामरुककोटका टीकावहादुर कार्कीले बताए।

नुनिलो र टर्रो स्वाद हुने शिलाजित भीरपहरामा मात्र पाइन्छ। शिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन्। पहराबाट निस्किएको एकप्रकारको रसायन जमेर शिलाजित बत्रेगरेको बताइन्छ। कालो शिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नसासम्बन्धीलगायतका रोग निको हुने जनविश्वास छ। बजारमा प्रति दसग्राम शिलाजितको २५ रुपैयाँदेखि ३० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।