भारतीय सेनाबाट अवकाश प्राप्त एक बृद्धाले आफूँले पेन्सनवापत प्राप्त गरेको आर्थिकलाई विद्यालय र विकास निर्माणमा सहयोग गर्नुभएको छ । बेनी नगरपालिका–४, तातोापनीका समाजसेवी जमदार चन्द्रबहादुर सिञ्जालीले शुक्रबार मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँस्थीत राष्ट्रिय जनजागृति माविमा आयोजित कार्यक्रममा आफ्नो पसिनाको कमाईलाई विद्यालयका बाललबालिकाल र समुदायको हितमा खर्च गर्ने बताउनुभएको छ ।

बृद्ध चन्द्रबहादुर र उनकी धर्मपत्नी हेमाले राष्ट्रिय जनजागृति माविलाई दुई चरणमा १ लाख १०५ रुपैयाँ सहयोग गरेपछि विद्यालयले चन्दादाता सम्मान कार्यक्रम कार्यक्रम गरेको थियो । सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक टेकबहादुर राम्जालीले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारको विस्तारमा ब्यक्तिगत चन्दाले धेरै सहज भएको बताउँदै चन्दादाताको सम्मानसँगै सहयोगलाई समेत शैक्षिक हितमै प्रयोग गरिएको बताउनुभयो ।

उहाँले समाजसेवी सिञ्जालीको सहयोगले विद्यालयका विद्यार्थीलाई जाडोयाममा न्यानो पोशाक वितरण गर्ने बताउनुभयो । सोही अवसरमा सिञ्जाली दम्पत्तीले जनआवाज आधारभुत विद्यालयलाई १५ हजार, पुर्णगाउँ–टोड्के सडक मर्मतका लागि १ लाख सहयोगको घोषणा गर्नुभएको थियो ।

यसअगाडी सिञ्जाली दम्पत्तीले कुँहुको दिपशिखा माविलाई १ लाख ५० हजार ६३० सहयोग गर्नुभएको थियो । भारतीय सेनाबाट अवकाश लिएसँगै सिञ्जालीले अहिलेसम्म विभिन्न विद्यालय सहित विभिन्न सामाजिक संघसंस्थामा सहयोग गर्ने गर्नुभएको छ । सम्मान कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष आश बहादुर थजाली, स्वागत प्रअ टेकबहादुर राम्जाली र कार्यक्रमको सञ्चालन शिक्षक भविदत्त सुबेदीले गर्नुभएको थियो ।