सुटिङमा स्वर्ण पदक जित्ने बागलुङकी श्रेया केसीको सपना चकनाचुर भएको छ । प्रयाप्त अभ्यास, दरिलो आत्मविश्वास तथा विगतमा समेत सुटिङमा निकै उत्कृष्ट केसीले खिया लागेको पेस्तोल नपड्किएपछि किर्तिमानी केसी रित्तो हात फर्किनुपरेको छ । आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फ १० मिटर सुटिङमा स्वर्ण जितेकी केसीले १३ औ सागमा देशका लागि स्वर्ण पदक जित्ने सपना खिया लागेको हतियारसँग पौठेजोरी गर्नुपर्दा पदक पुमेको बताईन् ।

‘पेस्तोल नै चलेन्,‘अन्य प्रतिस्पर्धीलाई माग्दा समय गइसकेको थियो’ केसीले भनिन् । उनले आफ्नो देशको लागि पदक थप्ने योजना असफल भएको भन्दै ब्यवस्थापन पक्ष कमजोर हुदाँ पदक गुमाउनुको पीडाले पोलेको बताईन् । प्रतियोगितामा १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी श्रेयाको अनुहार एक्कासि मलिन बनेको थियो । सुटिङतर्फ नेपालको प्रतिनिधित्व गरेकी श्रेया ४० गोली प्रहार गर्दासम्म चौथो स्थानमा थिइन्। ६० गोली प्रहार गर्ने यस स्पर्धामा श्रेयाले जसोतसो ४६ गोलीसम्म हानिन्, त्यसपछि पेस्तोल चलेन।

बीचबाटै स्पर्धा छाड्नुपर्ने अवस्था आयो। तर पनि उनले हरेस खाइनन्, अर्का खेलाडी विपेश खड्काको हतियार मागेर स्पर्धा पूरा गर्ने हिम्मत गरिन् तर यति बेलासम्म ढिलो भइसकेको थियो। फाइनल चरण पुग्ने अभिलासाका साथ सुरुबाटै अग्रता लिएकी श्रेयालाई पेस्तोलकै कारण अघिल्लो चरण प्रवेशको ढोका बन्द भयो। अनि उनको मनमा पनि सन्नाटा छायो।

खेललाई नै जीवन अर्पण गरेकी श्रेया यसबारेमा बोल्न चाहिनन्। उनी हतियारबाट छोका पाएपछि खेलस्थलमा नै छटपटाइरहिन्। अन्य देशका खेलाडी सुट गरिहेका थिए। उनी गहभरि आँसु पारेर उनीहरुको खेल हेरिरहेकी थिइन्। वातावरण निकै असहज बनेपछि एक प्रतिनिधिले उनलाई ‘यहाँ विदेशीसामु बेइज्जती नगरौं बरु खेल्न नै छाडौुं भनी सम्झाउँदै त्यहाँबाट अन्यत्र लगे। फाइनल स्पर्धामा पुग्ने सम्भावना हुँदाहुँदै हतियारकै कारण उनले खेल छाड्नुपयो।

बीचमै हतियारले काम गर्न छाडेपछि बाँकी १४ गोली प्रहार गर्न नपाई समय सकियो।निकै अनुनयपछि मुख्य जुरी इस्लामले श्रेयालाई ३ मिनेट परीक्षणकाल र ७ मिनेटमा बाँकी १४ गोली प्रहार गर्न निर्देशन दिए। तर उनीसँग हतियार भएन। सहभागी अन्य राष्ट्रका खेलाडीले पेस्तोल त दिए तर जुरीले त्यस पेस्तोलको विवरण नपुगेको भन्दै प्रयोग गर्न नपाउने जनाए।

४० गोली हान्दासम्म चौथो स्थानमा भएकी श्रेया अन्तिममा ५ सय ३३ अंकका साथ सातौं स्थानमा रहिन्।जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले १० वर्ष पुरानो एउटै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ। राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीलाई काम नलाग्ने सेकेन्ड ह्यान्ड सामग्री दिएकाले यस्तो अवस्था आएको आरोप सुटिङ संघले लगाएको छ।

श्रेयालाई हतियारले धोका दिएपछि सुटिङ संघका क्रुद्ध भएका छन् । श्रेयाबाटै स्वर्णपदकको आश गरिएको थियो , जारी सागमा १० मिटर एयर पेस्तोल प्रतिस्पर्धामा नेपालबाट १२ खेलाडी सहभागी छन्। ती सबैले एउटै इभेन्टमा एकै पेस्तोलबाट प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ। खेललाई नै जीवन समर्पण गरेका खेलाडीको सपना जिम्मेवार निकायको गल्तीले यसरी टुंगिनु दुःखदायी भएको सुटिङ संघका अधिकारीको गुनासो छ।