उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको दोस्रो दिन ७० लाख रुपैयाँ संकलन भएको छ । धाइरिङ निवासी हाल बेलायतमा वासोबास गर्नुहुने एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यको परिवारले १० लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी महोत्सवको दोस्रो दिनको सभानायक बन्नुभएको हो ।

यसैगरी महोत्सव आयोजक समितिका महासचिव जगन्नाथ आचार्य,सचिवालय प्रमुख मुकुन्द आचार्य र आयोजक सदस्य कमलनयन आचार्यको परिवारले स्वर्गीय बुबा बालकृष्ण आचार्य र आमा भद्रकली आचार्यको स्मृतिमा उहाँको परिबारबाट महोत्सवलाई पाँच लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ सहयोग गरी सभानायक बन्नुभएको सचिवालयले जानकारी दिएको छ ।

महोत्सवको तेस्रो दिन शनिबार सर्वोच्च अदालतका पूर्व न्यायाधिश कल्याण श्रेष्ठ, सफल व्यवसायी आनन्दराज भण्डारी र कर्णेल कृष्णबहादुर खत्री लगायत विशिष्ट व्यक्तीहरु आउने सचिवालय प्रमुख मुकुन्द आचार्यले जानकारी दिनुभयो । महोत्सवमा पर्वतका साथै म्याग्दी,बागलुङ,पोखरा,काठमाण्डौं,चितवन लगायतका जिल्लाहरुबाट भक्तजनहरु आउनुभएको आचार्यले बताउनुभयो ।

वैदिक गाईको संरक्षण गरी धार्मिक धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन हुने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंसिर १९ गते उद्घाटन गर्नुभएको थियो ।

गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका महासचिव आचार्यले बताउनुभयो ।

गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । महोत्सवमा स्वामी कमलनयनाचार्य लगायत पण्डितहरुले धार्मिक प्रवचन गरिरहनुभएको छ । स्वामी आचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।

Leave a Reply