साउदी अरबमा एक नेपालीको हत्याको आरोपमा ६ बर्षदेखि जेल सजाग भोगिरहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेलाई घर फिर्ती अभियानमा मोना युकेले ३ लाख आर्थिक सहयोग गरेको छ । बेलायतमा एक च्यारेटी संरथाको मान्यता प्राप्त गरेको मोना युकेले सदस्यबाट संकलन गरेको आर्थिक शनिबार एक कार्यक्रम गरी निउरेकी आमा र दिदीलाई हस्तान्तरण गरेको हो ।

मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन र मिडिया सहसचिव बागबिर पुनले सहयोग हस्तान्तरण गरेको मोना यूकेका महासचिव लालबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार मोना आइसीमार्फत प्राप्त पत्रका आधारमा संकलन गरिएको बताए ।

जेल जिवन विताइरहेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्यामा संलग्न रहेको भन्दै जेलमा रहेको समाचार पहिलोपटक बेनीअनलाइनले प्रकाशित गरेको थियो । कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी पुगेका निउरे कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा हत्याको अभियोगमा जेलमा परेका थिए ।

पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका निउरेको फिर्ती अभियानलाई प्रभावकारी बनाउन समेत अपिल गरिएको थियो। निउरे घाईतेलाई बोकेर अस्पतालमा लैजाने क्रमा फिंगर प्रिन्टलाई आधार मानेर प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेको त्यहाँ रहेका म्याग्देलीको भनाई छ । बि.श २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए ।