म्याग्दी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभाले अध्यक्षमा पुनः थदेवी पुनको निर्विरोध निर्वाचत चयन गरेको छ । म्याग्दी जिल्ला स्थायी घरभई काठमाण्डौमा रहेका म्याग्देलीहरुद्धारा सञ्चालित सहकारीको उपाध्यक्षमा सुशिला शेरचन,कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, धनलाल जैशी, सचिव दिपबहादुर छन्त्याल, कोषाध्यक्ष इन्द्रजीत छन्त्याल, सह–सचिव टकबहादुर थापा, सह–कोषाध्यक्ष छकप्रसाद छन्त्याल गरी १५ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको सचिव दिपबहादुर छन्त्यालले बताए ।

उनका अनुसार साधारणसभाबाट सदस्यहरुमा केशबहादुर गौचन,लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल, हर्क नारायण घर्तीमगर छन् । सोही अवसरमा चित्रबहादुर पुनको संयोजकत्वमा सुगन्ध सुबेदी र धनबहादुर छन्त्याल सदस्य रहेको लेखा समिति समेत चयन गरिएको छ । साधारणसभाको उद्घाटन गदै महालेखा नियन्त्रक तथा भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयका निवर्तमान सचिव गोपीनाथ मैनालीले सरकारले सहकारीलाई निरुत्साहितभन्दा प्रोत्साहनको निती लिएको बताए। उनले सहकारीलाई नियमावली तथा विधि अनुसार सञ्चालन गर्ने गरी विभिन्न काम भइरहेको बताउँदै राम्रो सहकारीलाई पुरस्कृत गर्ने योजना रहेको बताए ।

‘राम्रो सहकारीहरुलाई सम्मान,गलत कार्यमा संलग्नलाई कारवाही गर्नुपर्छ’ उनले भने ।संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले सहकारीले सामाजिक तथा आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले म्याग्दी जिल्लाबासीको सक्रियतामा स्थापना भएपनि देशका विभिन्न क्षेत्रमा सहकारीले आर्थिक सहयोग गरेको बताए ।

साधारणसभाको अवसरमा कानुनी परामर्शदाता डिल्लीराम तिवारीले संशोधित सहकारी ऐन र नियमावलीले सहकारीलाई केही समस्या परेको गुनासो आउने गरेको बताए । हकहित समाजका उपाध्यक्ष गोविन्द गिरी र धौलागिरी सहकारी समुहका संयोजक याम श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।

सोही अवसरमा गतबर्षको एसईई परिक्षामा म्याग्दी जिल्लाबाट सामुदायिक विद्यालयतर्फ उत्कृष्ट राष्ट्रिय मावि घतानका निशान चोखाल, छात्रातर्फ गलेश्वर मावि तोरिपानीकी मनिषा किसान, संस्थागत विद्यालयतर्फबाट म्याग्दी टप माउण्ट एभरेष्ट आवासीय माविकी सलिना राम्जाली, छात्रतर्फ बेनी आवासीय माविका शशांक श्रेष्ठ, सेयरसदस्यतर्फबाट काठमाण्डौको आइडियल मोडेल स्कुलकी परिना पुन र काठमाण्डौ विद्याकुञ्जका आशिष छन्त्याललाई प्रति विद्यार्थी नगद ५ हजारको दरले सम्मान गरिएको थियो ।

सोही अवसरमा उत्कृष्ट कारोबारकर्ता विष्णुमायाँ धिताल, उत्कृष्ट बचतकर्ता बुद्धिबहादुर तिलिजा पुन, उत्कृष्ट आवाधिक बचत कारोबार शान्ति आले, जनकराज पाण्डे, उत्कृष्ट कर्जा कारोबार रनमायाँ शेरचन र कसिनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

सोही अवसरमा १ लाख भन्दाबढी मुल्यको शेयर खरिद गर्ने नयाँ सदस्यहरु त्रिलोकचन्द विश्वास विक र मुनादेवी आचार्यलाई शेयर प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याउनु भएका महालेखा नियन्त्रक गोपीनाथ मैनाली र डिल्लीराम तिवारीलाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा शेयर सदस्य तथा लोक गायक खड्ग गर्बुजाले सांगितिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यस्तै शोभा कार्की, श्याम रानाले समेत दोहोरी गित प्रस्तुत गरेको लेखा समिति सदस्य धनबहादुर छन्त्यालले बताए । अध्यक्ष थदेवी पुनको अध्यक्षता, उपाध्यक्ष सुशिला शेरचनलले स्वागत भाषण, प्रबन्धक विष्णुप्रसाद पौडेलले अध्यक्षको प्रतिबेदन प्रस्तुत र कार्यक्रम संचालन सचिव दिपबहादुर छन्त्यालले गरेका थिए । सहकारीमा म्याग्दी जिल्लाका साविक ४१ गविसभित्रका सेयर सदस्यहरु रहेका छन् ।

१६६० जना सेयर सदस्य रहेको सहकारीमा ७ करोड ५० लाख शेयर पुँजी, ३७ करोड १८ लाख बचत र ३७ करोड ६० लाख लगानी रहेको छ । सहकारीमा १९ प्रतिशतले बचत र १० प्रतिशतले लगानी बढेको छ । नवनिर्वाचित अध्यक्ष पुनले सहकारीलाई आर्थिक कारोबारसँगै सामाजिक तथा अन्य सेवामुलक क्षेत्रमा समेत केन्द्रित गर्ने प्रतिबद्धता जनाईन् ।

विज्ञापन