उच्च अध्ययनका लागि सुन्दर भविष्यको कल्पना सजाउँदै अस्ट्रेलिया आइपुगेका रुपन्देही मद्राणीका सन्तोष गौतमले अकालमै ज्यान गुमाउनुपर्यो। सामान्य झगडामा उनको ज्यान गएपछि परिवार शोकमग्न भएको छ। सुखी जीवनका साथ घरबार बसाउने कल्पना बोकेर अस्ट्रेलिया आएका सन्तोष बत्तीस वर्षको उमेरमै काठको बाकसमा नेपाल फर्काइए।

सिड्नीको ग्रानभिलमा बसोबास गर्दै आएका सन्तोषलाई घर झगडामा उनकै पत्नी नुमा गौतमले धारिलो हतियार प्रयोग गर्दा मृत्यु भएको थियो। उनको मृत्युपछि नुमालाई हत्याको आरोपमा सिड्नीको जेलमा राखिएको छ भने सात वर्षीया छोरी प्रहरी संरक्षणमा आफन्तको घरमा छिन्।अटो मोबाइल पढेर आफ्नै ग्यारेज चलाउँदै आएका सन्तोष स्थानीय नेपाली क्लबवाट क्रिकेट खेल्ने गर्दथे। उनकी पत्नी नुमाको पनि राम्रै आम्दानी थियो।

तर गत साताको शनिबार राति एक्कासी घर झगडाले उग्ररुप लिएपछि एउटा सानो घर संसार अचानक बिथोलिन पुगेको छ। स्थानीय नेपाली क्रिकेट खेलाडी, अस्ट्रेलियन नेपाली क्रिकेट संघ तथा एनआरएनको पहलमा उनको पार्थिव शरिरलाई परिवारको चाहना अनुरुप बुधबार नेपाल पठाइएको छ।मंगलबार साँझ बरउडमा सन्तोषको शव राखिएको गृहमा श्रद्धान्जली कार्यक्रम गरिएको छ।

स्थानीय क्रिकेट खेलाडी, समुदायका अगुवा तथा एनआरएनका पदाधिकारी लगायतले सन्तोषलाई श्रद्धान्जली अर्पण गरे। सोही क्रममा सन्तोषकी सात वर्षीय छोरीलाई समेत ल्याइएको थियो। एक अवोध बालिकाको आँखामा बाबुको मृत्यु र आमाको हिरासत जीवनको कुनै छनक समेत देखिँदैनथ्यो। उनी त्यहाँ भन्दै थिइन् ‘बाबाको हातमा के भएको हो?’

शोकमा डुबेको त्यो क्षणका बेला बालिकाको स्वभाव अरुलाई झनै पीडादायक लाग्थ्यो। उनी कहिले बाहिर त कहिले भित्र गर्दै नजिकका नातेदारसँग ‘के हुन्छ अब, के गर्ने हो ?’ जस्ता प्रश्न गर्थिन्। एउटा असल क्रिकेटर गुमाएको पीडा र अर्को सानी नानीको बालापन देख्दा उपस्थित धेरैको आँखा रसाएका थिए। सानो घर झगडा र क्षणिक आवेगले एउटा सुन्दर परिवार नै ध्वस्त भएको अवस्था थियो।

श्रद्धान्जली कार्यक्रम आयोजना गरेको नेप्लीज अस्ट्रेलियन क्रिकेट एसोसिएसनका संस्थापक अध्यक्ष अजय क्षेत्री भन्छन् ‘विदेशी भूमिमा बस्दै गर्दा तनाव र व्यस्तताले अनेक अल्झन आउन सक्छन्, तर त्यही अल्झन भोलिका दिनमा पीडादायक बन्न सक्छ।’ आफ्ना समस्याका विषयमा विशेषज्ञहरुसँग परामर्श समेत लिन सकिने उनले बताए।

शैक्षिक परामर्श केन्द्र आशेनियाका निर्देशक सन्दिप खनाल आपसी कलह र मनमुटावले परिवार नै ध्वस्त हुन सक्ने बताउँछन्। यस विषयमा अस्ट्रेलियामा रहेका नेपाली गम्भीर हुनुपर्ने उनी बताउँछन्। सन्दिप भन्छन् ‘आपसमा सँगै जिन्दगी बिताउन सकिँदैन भन्ने लाग्दछ भने खुसीका साथ आ– आफनो बाटो लाग्नु सरल उपाय हो, यसले गम्भीर क्षतिबाट समयमै जोगाउन सक्छ।’

घर झगडालाई परालको आगो भन्न रुचाउने हाम्रो समाज अहिले पनि पुरातन शैलीबाट चलेको देखिन्छ। ‘काम, पढाइ, घर, बच्चा सम्हाल्ने,आर्थिक पक्षका विविध कामले तनाव ल्याइरहेको हुन्छ,  तनावलाई प्रारम्भिक रुपमै समाधान खोजिएन भने गम्भीर क्षति पार्न सक्छ’ सन्दिपले भने। सिड्नीका कानुन व्यवसायी खिलेन्द्रराज तिम्सिनाले घरायसी समस्या समाधानको विषयमा खुलेर एकअर्काबीच कुराकानी हुनुपर्ने र सहज रुपमा लिनुपर्ने बताउँछन्। अस्ट्रेलियाको कानुनी व्यवस्थाबारे जानकारी नहुँदा पनि अपराधिक घटनामा वृद्धि भएको तिम्सिनाको ठहर छ।

एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मी साना झगडामा हात हाल्ने खराब बानीले पनि पछिल्ला दिनहरुमा घरेलू हिंसामा वृद्धि भएको बताउँछन्। ‘हाम्रो समाजमा हातै हालेर झै झगडा गर्ने गलत प्रवृत्ति छ, त्यो प्रवृत्ति अस्ट्रेलियासहित कतिपय देशमा गम्भीर कानूनी अपराधमा मानिन्छ’ उनले भने।

सन्तोषको निधनले घरेलू हिंसामा पुरुषको पीडालाई झल्काइदिएको छ। हुन त उनकी श्रीमती नुमा गौतमलाई अहिले प्रहरी अनुसन्धाका क्रममा थुनिएको छ, घट्नाक्रमले यसको तथ्य र सत्य बाहिर आउनेनै छ। आत्मरक्षाका लागि गल्ती भएको पनि हुन सक्छ। ‘रिस खा आफू.. बुद्धी खा अर्को..’ भन्ने प्रचलित नेपाली उखानझै क्षणभरमै उजाडिएको एउटा परिवारवाट हाम्रो प्रवासी समाजले गतिलो सन्देश लिनुपर्ने देखिएको छ। हेमन्त काफ्ले/सिड्नी Source: Setopati.com