माउण्ट एभरेष्ट आवासीय माविमा अध्ययनरत ३६ जना विद्यार्थीलाई नेपाली सेनाको राष्ट्रिय सेवा दलको जुनियर डिभिजनले तालिम दिएको छ । श्रीबक्स गुल्मको संयोजनमा विद्यालयमा अध्ययरत विद्यार्थीहरुबाट छनौट गरी ३६ जनालाई ६९ दिनसम्म दैनिक दुईघण्टा विभिन्न किसिमका तालिम सञ्चालन गरिएको थियो ।

आइतबार विद्यालयस्तरमा सञ्चालित तालिमको समापन कार्यक्रममका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विद्यार्थीको ब्यक्तिगत सँगै समाजप्रतिको उत्तरदाहित्वबोध गर्न तालिमले भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा अभिभावक तथा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागितामा विद्यार्थीले सैन्य सहित आफ्नो ब्यक्तित्व विकासमा तालिममार्फत सिकेका सीपहरु प्रर्दशन गरेका थिए। खैरो रङको पोसाक (कम्ब्याड)मा सजिएका विद्यार्थीलाई जुनियर डिभिजनका जमदार मोहन थापा, हबल्दार तेजबहादुर गुरूङले प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागी मध्ये छात्र १८ र छात्रा १८ जनाको सहभागिता रहेको छ ।

समापन कार्यक्रममा बेनी नगरपालिकाका शिक्षा समितिका जयराम सुबेदी, प्याब्सन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद सुबेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, न्यू वेष्ट पोइन्ट आवासीय माविका प्रधानाध्यापक डिबी दाहाल, लेखापढी ब्यवसायी संघका योगेन्द्र बानियाँ,प्रशिक्षक मोहन थापाले मन्तब्य राख्नु्भएको थियो ।

स्थान विशेषको रुपमा ७९ दिनसम्म शारीरिक व्यायाम, मास पिटी, तेक्वान्दो, बक्सिङ, खाली हात ड्रिल, खुकुरी ड्रिल,अनुशासन, नेतृत्व सीप, सैद्धान्तिक, एरोवीक्स, मास, पिटी, तेक्वान्दो, नक्सा अध्ययन,भिडमा बोल्ने तरिका, लागुऔषध, चेलीवेटी बेचविखन विरुद्ध, खोज उद्धार सम्बन्धित ज्ञान, कम्पास जीपीएस लगायतका साहसिक तालिम दिइएको थियो । व्यक्तित्व विकास,क्षमता अभिवृद्धि र आत्मविश्वास बढाउने विभिन्न तालिमले दैनिकीमा ठूलै परिवर्तन आएको विद्यार्थीको टोली संयोजक रिट्रोना बानियाँले बताउनुभयो ।

तालिम समापन कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसी, स्वागत विद्यालयका प्रधानाध्यापक आरके चौधरी र सञ्चालन शिक्षकद्धय मेगा रिजाल र चन्द्रमान छन्त्यालले गर्नुभएको थियो । विद्यालयको तालिम सम्पन्न भएसँगै विद्यार्थी नवलपरासी जिल्लाको हात्तीखोरमा २१ दिनसम्म अतिथि भाषणकला, नेतृत्व विकास, व्यक्तित्व विकास, स्वप्रवद्र्धन, राष्ट्रिय एकता, ट्राफिक सचेतना, चेलीबेटी बेचबिखन तथा लागुपदार्थ दुव्र्यसन, सैनिक कला एवम् महिला तथा बालअधिकार संरक्षणसम्बन्धी तालिममा सहभागि हुने छन् ।

विज्ञापन