म्याग्दीको बेनी नगरपालिका–५, बगुवाखोला र ६ नम्बर वडा अर्थुङ्गेस्थित सञ्चालनमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण भएको छ । महिला, बालबालिका तथा ज्येष्ठनागरिक पूर्व मन्त्री थममाया थापाको पहलमा आइतबार बालबालिकालाई झोलालगायत शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।

चाइना फाउण्डेशन फर पोभर्टी एलिभेसन संस्थाको सहयोगमा विभिन्न विद्यालयको आधारभूत तहमा अध्ययनरत २ सय ७ जना बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । पूर्व मन्त्री थापाको पहलमा अर्थुङ्गेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको विद्यालयले जनाएको छ ।

यसैगरी विद्यामन्दिर आधारभूत विद्यालयका ४८ जना, थाकनपोखरी आधारभूत विद्यालयका ३९ र बागेश्वरी आधारभूत विद्यालय छापका १७ जना विद्यार्थीहरुलाई पनि शैक्षिक सामग्री वितरण गरिएको छ । उनीहरु सबैलाई जामुनाखर्क माविको प्राङ्गणमा बोलाएर झोला, कापी, कलमसहित सामग्री वितरण गरिएको अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुवास विश्वकर्माले जानकारी दिए ।

त्यस्तै बगुवाखोलामा सञ्चालित बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई पनि सोही विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरिएको उनले बताएका छन् । बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दै पूर्व मन्त्री थापाले आफू सधैं जनताको काममा नै लागिरहने बताएकी छिन्। उनले जनताको गुनासो सुनेर आफूले काम गर्ने बताउँदै उनले समाजमा रहेका गरिब, विपन्न, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा काम गर्ने बताइन् ।

समाजमा उत्पीडित महिला, बालबालिका र ज्येष्ठनागरिकहरुको उत्थानका लागि आफूले सक्दो पहल गर्ने बताउँदै थापाले यसअघि आफू मन्त्री पदमा रहँदा पनि मन्त्रालयमार्फत समाज सुधारका धेरै कामहरुको थाली गरेको जानकारी समेत दिएकी छिन् । उनले समाजलाई परिवर्तन र रुपान्तरण गर्नका लागि दिनदुःखी, गरिब र निमुखाहरुको जीवनस्तर उकास्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा बोल्दै बेनपा–६, का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले वडाभित्र रहेका आर्थिक रुपमा विपन्न परिवारको उत्थानका लागि आवश्यक सहयोग गर्ने गरिएको बताए । उनले वडामा सञ्चालित सबै सामुदायिक विद्यालयहरुमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको भन्दै गरिब र विपन्न विद्यार्थीको अध्ययनमा सहयोग गर्ने उद्देश्यसहित ‘सहज शिक्षा कोष’को स्थापना गरिएको जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, सचिव हरिकृष्ण श्रेष्ठ, चाइना फाउण्डेशन संस्थाका प्रतिनिधि सुरेश प्याकुरेल, थाकनपोखरी आधारभूत विद्यालयका अध्यक्ष ज्योती लामिछाने र मन्त्री थापाका पूर्व स्वकीय सचिव गमबहादुर पुनको उपस्थिति रहेको थियो ।

जामुनाखर्क माविका अध्यक्ष यादव सुवेदीको अध्यक्षता र प्रधानाध्यापक सोमनाथ ढुङ्गानाको स्वागतमा सम्पन्न कार्यक्रममा चाइना फाउण्डेशन संस्थाका प्रतिनिधि कोपिता खड्काले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् । यसअघि पनि मन्त्री थापाको पहलमा म्याग्दीको अन्य विद्यालय र म्याग्दी बहुमुखी क्याम्पसलाई ल्यापटप तथा झोलालगायत सामग्री वितरण गरिएको थियो ।