मिलन म्याग्दीको १५औं साधारणसभा तथा नवौं अधिवेशनबाट शिव बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संस्थाकोसदरमुकाम बेनीमा सम्पन्न नवौं अधिवेशनले बानियाँको अध्यक्षतामा आगामी २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।  संस्थाको निवर्तमान अध्यक्षमा विनय श्रेष्ठ, उपाध्यक्षमा कमला थापा, सचिवमा दिलमाया बिटालु, कोषाध्यक्षमा तिलकुमारी राना र सहसचिवमा ज्ञानुकुमारी केसी निर्वाचित भएका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा चन्द्रकला खत्री, गिरेन्द्र बानियाँ, प्रताप बानियाँ र रतिका मिजार निर्वाचित भएका छन् ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक पूर्व मन्त्री थममाया थापाले सामाजिक रुपान्तरणको अभियानमा गैरसरकारी संघसंस्थाहरुको भूमिका अपरिहार्य रहेको बताएकी छिन् । मिलन म्याग्दीको शनिबार सदरमुकाम बेनीमा आयोजित १५औं साधारणसभा तथा नवौं अधिवेशनको उद्घाटन गर्दै उनले समाज रुपान्तरणमा गैससहरुको महत्वपूर्ण भूमिका हुने बताएकी हुन् ।

पूर्व मन्त्री थापाले समाज रुपान्तरण र परिवर्तनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै राज्य नपुगेका ठाउँमा गैससहरु पुगेर सामाजिक अभियानका कामहरु गर्नुपर्ने बताइन् । उनले सामाजिक कार्यको साथसाथै भौतिक पूर्वाधार निर्माणमा समेत सहयोगी भूमिका खेलेको बताउँदै आफू मन्त्री रहँदा मन्त्रालयमार्फत थुप्रै सामाजिक सुधारका कार्यहरु गरेको बताएकी छिन् । म्याग्दी जिल्लाको सामाजिक रुपान्तरणका साथै भौतिक विकासतर्फ झोलुङ्गे निर्माणमा मिलनको भूमिका रहेको उनले बताइन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले स्थापनाकालदेखि नै मिलन म्याग्दीले सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको हुँदा यसलाई निरन्तरता दिन सुझाव दिए । उनले पछिल्लो समय सुआहारा कार्यक्रममार्फत पनि महिला तथा बालबालिकाको स्वास्थ्यका क्षेत्रमा सचेतनामूलक कार्यहरु गरिरहेको बताउँदै म्याग्दी जिल्लाको सामाजिक र भौतिक निर्माणको क्षेत्रमा काम गरेको बताएका छन् ।

आगामी दिनमा समेत जिल्लाव्यापी रुपमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै जिसस प्रमुख केसीले जिल्ला समन्वय समितिको तर्फदेखि आवश्यक सहयोग एवं समन्वय गर्ने जानकारी दिए । कार्यक्रममा बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले गैरसरकारी संघसंस्थाले समुदायमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जोड दिनुपर्ने बताएका छन् । मिलन म्याग्दीका कार्यकारी निर्देशक एवं गैरसरकारी संस्था महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य दिवाकुमारी पुनले सामाजिक क्षेत्रका गतिविधिमा गैससहरुले योगदान पु¥याएको बताइन् ।

कार्यक्रमको अवसरमा धवलागिरी गाउँपालिका–६, मराङ बेसीको ठूलोखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिलाई निर्धारित समयमै पुल निर्माणसम्पन्न गरेकोमा सम्मानपत्रसहित सम्मान गरिएको थियो । यसैगरी संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै सामाजिक परिचालक रिजन तिलिजालाई पनि सम्मानपत्रसहित सम्मान गरिएको संस्थाले जनाएको छ ।
साधारणसभाको उद्घाटनसत्रमा संस्थाका सचिव कमला थापाले प्रगति र कोषाध्यक्ष दिलमाया बिटालुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष विनय श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष शिव बानियाँको स्वागत र सचिव कमला थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

विज्ञापन