उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको तीनवटा प्याकेज अलपत्र परेको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटरमा पाँच र जोमसोमदेखि कोरलाको ११० किलोमिटर सडकमा सातवटा प्याकेज छन् ।

म्याग्दीको गलेश्वर–नारच्याङ पुल, मुस्ताङको कोवाङ–जोमसोम र चराङ–छोसेर खण्डको सडक अलपत्र परेको हो। निर्माण व्यवसायीले समयमा काम नगर्दा चीनको सिमाना कोरला नाका जोड्ने सडक अलपत्र परेको छ । कूल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक कालोपत्रेका लागि निर्माण कम्पनीहरुसँग पहिलो चरणमा भएको सम्झौताको म्याद मङ्सिर १५ गते सकिएको छ ।

जोमसोम–कोरला सडकको पनि तेस्रो पटक थपिने म्याद आगामी असारमा सकिँदै छ । गलेश्वरदेखि नारच्याङ पुलसम्मको १९ किलोमिटर, कोवाङदेखि जामसोम १९ किलोमिटर र चराङदेखि छोसेर २५ किलोमिटर सडकको काम ठप्प भएको छ। मुस्ताङको मार्फादेखि टुकुचेसम्म ग्राभेल पूरा गरेपछि व्यवसायीले काम नगरेकाले सडक अलपत्र परेको घरपझोङ गाउँपालिकाका अध्यक्ष आसबहादुर थकालीले बताउनुभयो ।

सडक निर्माणमा भएको ढिलाइले जोमसोम, मार्फा, पुथाङलगायत बजार क्षेत्रमा अन्य विकासका पूर्वाधारको काम गर्न गाउँपालिकालाई अप्ठ्यारो परेको अध्यक्ष थकालीको भनाइ छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार तल्लो खण्डमा ५० र उपल्लो खण्डमा ६२ प्रतिशत काम सम्पन्न भएको छ । Source:ntv.org.np

विज्ञापन