साउदी अरबमा एक नेपालीको हत्याको आरोपमा ६ बर्षदेखि जेल सजाग भोगिरहेका मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरेको घर फिर्ती अभियानमा दरबाङमा २ लाख ४० हजार आर्थिक सहयोग संकलन गरिएको छ । दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीको पहलमा दरबाङ सहित विभिन्न स्थानमा संकलन गरिएको आर्थिक एक कार्यक्रमका बीच निउरेका आफन्त तमबहादुर केसीलाई हस्तान्तरण गरिएबो छ ।

जेल जिवन विताइरहेका निउरे मोरङ जिल्लाका कमल वस्तीको हत्यामा संलग्न रहेको भन्दै जेलमा रहेको समाचार पहिलोपटक बेनीअनलाइनले प्रकाशित गरेपछि आर्थिक सहयोग अभियानले तिब्रता पाएको छ । कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी पुगेका निउरे कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा हत्याको अभियोगमा जेलमा परेका थिए ।

पाँचबर्षे सजायको कैद भुक्तान गरेपनि आवश्यक कागजात र मृतकका आफन्तले माग गरेको ब्लड मनी (क्षतीपूर्ति) तिर्न नसक्दा जेलभित्रै रहेका निउरेको फिर्ती अभियानलाई प्रभावकारी बनाउन समेत अपिल गरिएको थियो। यसैबीच आर्थिक सहयोग गर्ने सम्पूर्णलाई वडा अध्यक्ष एवम् लायन्स क्लव म्याग्दी दरबाङका अध्यक्ष सुबेदीले धन्यवाद ज्ञापन गरेका छन् ।