म्याग्दीको सदरमुकाम बेनीको बिरेन्द्रचोकमा अवस्थित गोर्खा भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लि. बेनीले भुपु सैनिकहरुको हितका लागि आवश्यक सुविधामा थप पहल गर्ने जनाएको छ । सहकारीको आठौ बार्षिक साधारणसभाको अवसरमा म्याग्दी जिल्लाभित्र रहेका भारतीय भुपु सैनिकका अवकाशप्राप्त तथा बाहलवालाको परिवारसँग सहकार्य गर्ने तथा आर्थिक कारोबारमा समेत सहकारीमा आवद्ध बनाउने गरी योजनाबद्ध तरिकाले अगाडी बढ्ने प्रतिबद्धता जनाएको हो ।

साधारणसभाको अवसरमा कोषाध्यक्ष कृष्णबहादुर पुनले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । दुई करोड ६८ लाख १६ हजार ५०० रुपैया सेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षमा १५ करोड ६३ लाख ३२ हजार ६२२ रुपैयाँ निक्षेप संकलन र ११ करोड ९३ लाख ३० हजार ७०६ रुपैयाँ लगानी गरिएको छ ।

साधारणसभामा सचिव बानियाँले वार्षिक प्रगति, लेखा समिति संयोजक जसबहादुर तिलिजाले लेखा समिति प्रतिवेदन गरेका थिए । म्याग्दी जिल्लाभित्रका भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएकाहरुले स्थापनासँगै पेन्सन लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यताको अन्त्य गदैं बेनीबाटै पेन्सन सुविधा उपलब्ध गराउन सहकारीले भूमिका खेलेको थियो ।

संस्थाका अध्यक्ष टेकबहादुर रावलले आर्थिक कारोबारसँगै सामाजिक तथा मानवीय सेवालाई समेत प्रभावकारी बनाउने बताए । साधारणसभाको अवसरमा बेनपा–७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, सहकारीका उपाध्यक्ष देउप्रसाद छन्त्याल, गोर्खा सैनिक बोर्ड बेनीका सेक्रेटरी सोमबहादुर थापा, सल्लाहकार संयोजक मिनबहादुर कार्कीले मन्तब्य राखेका थिए ।