जिल्लाको विकट धवलागिरी गाउँपालिका–१ गुर्जामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत विभिन्न कार्यक्रम गरिएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्ध एक्यबद्धता’ भन्ने मूल नारासहित जनप्रतिनिधिको अगुवाईमा सामाजिक विकृति न्युनीकरणका लागि सात बँुदे प्रतिवद्धता जनाइएको छ ।

कार्यक्रममा लैङ्गिक हिंसाले किशोरी, हजार दिनका महिलामा पार्ने असर, बालविवाहको असर र कानुनी पक्षका विषयमा सहजीकरण गरिएको गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए ।‘समुदायको सहभागितामा तीनदिने रचनात्मक कार्यक्रम गरिएको छ,‘दिबसबाहेक हरेक दिन ब्यवहारिक रुपमा कार्यान्वयनमा जोड दिइएको छ’ छन्त्यालले भने ।

उनका अनुसार जातीय छुवाछुतलाई निरुत्साहित गर्ने, महिला तथा घरेलुहिंसा नगर्ने, मदिरा तथा जुवातास नियन्त्रणका लागि सञ्चालित अभियानलाई प्रभावकारी बनाउने, बालबिवाह न्युनीकरणका लागि सञ्चालित अभियानलाई निरन्तरता दिने, समानतालाई आधार बनाएर रचनात्मक कार्यलाई प्रोत्साहन तथा प्रतिबद्धता जनाइएका गतिविधिको अनुगमन तथा निगरानीका लागि समिति समेत बनाइएको छ । तीन दिनसम्म सञ्चालन भएको कार्यक्रमको कदम म्याग्दीका मुक्ति ढुङ्गानाले सहजिकरण गरेको वडा सचिव गिरिराज शर्माले बताए । कार्यक्रममा करिव १ सय जनाको सहभागिता रहेको थियो ।