म्याग्दीकी सफल ब्यवसायी एवम् एकल महिलाकी अभियान्ता अभियन्ता विमला गौचन डा. भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् । भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष गौचन सम्मानित भएकी हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर एक्सिलेन्सी सर्भिस अवार्डबाट सामाजिक अभियन्ता गौचनलाई सम्मानित गरेको हो । विभिन्न सामाजिक संघ संस्थामा कृयाशील अग्रज समाजसेवी गौचन एकल महिला समुह म्याग्दीकी अध्यक्ष पनि हुन्। यसैगरी डाक्टर अम्वेडकर कलाश्री अवार्डबाट संचारकर्मी आरती लम्साल सम्मानित भएकी छन ।

जातीय विभेदको अन्त्य र महिला सशक्त्तिकरणमा योगदान पुर्याए बापत लम्साललाई सम्मान गरिएको अकादमीले जनाएको छ । जातीय विभेद विरूद्ध अन्तरजातीय बिवाह गरेकी लम्सालले पछिल्लो समय विभेद विरूद्धको अभियान समेत चलाईरहेकी छन् । यसैगरी समाजसेवीहरू सुशीला कट्टेल गैरे र राजकुमार सुनार पनि सम्मानित भएको नेपाल अकादमीका अध्यक्ष ठाकुरचन्द्र गहतराजले जानकारी दिए।

भारतका केन्द्रिय सामाजिक न्याय मन्त्री एवं राज्यसभा सांसद डा. सत्यनारायण जाटियाले अवार्ड वितरण गरेका थिए ।
भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान र्पुयाउने विभिन्न व्यक्तित्वलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ । दक्षिण एशियाका समतावादी अभियन्ता डाक्टर अम्वेडकर सामाजिक समावेशिकरणका अभ्यासकर्ता हुन ।

यसैबीच सम्मानित गौचनले विशिष्ट सम्मानबाट उत्साहित भएको बताईन् । ‘यो सम्मानले उर्जा थपेको छ,‘भविस्यमा पनि सामाजिक अभियानमा सक्रिय हुन्छु’ गौचनले बेनीअनलाइनसँग भनिन् । उनले सार्वजनिक सम्मानसँगै भारतमा रहेका सामाजिक गतिविधिमा संलग्न संघसंस्थाका प्रतिनिधिहरुसँग समेत भेटघाट भएको बताईन् । उनले भारतीय संविधान निर्माता डा. अम्वेडकरको नामको अवार्ड पाउनु ठूलो सफलता भएको बताईन् ।