बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालय मन्दिरको छैठौ अधिवेशनबाट अध्यक्षमा पुनः रुद्धबहादुर कार्की निर्विरोध निर्वाचन भएका छन् । मंगलबार सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्षमा भिमनाथ पराजुली, सचिव माधब प्रसाद रेग्मी, कोसाध्यक्ष बम बहादुर पुन रहेका छन् ।

त्यसैगरी सदस्यमा पुर्ण बहादुर बानियाँ, टीकानन्द सुवेदी, कुमारी रोका,धन प्रसाद रोका, अम्मर बहादुर बस्नेत, हिरा बहादुर बरुवाल, आसिका पुर्जा, प्रेम बहादुर चोखाल, मनोज पौडेल रहेको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताए । अधिवेशनको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गरेका थिए ।

अधिवेशनमा प्रमुख जिल्ला अधिकारी एवम् संरक्षक ज्ञाननाथ ढकाल, वडा अध्यक्ष बेलबहादुर चोलाख, विभिन्न संघसंस्थाका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । नवनिर्वाचत अध्यक्ष कार्कीले गलेश्वरको गुरुयोजना अन्तरगत बाँकी रहेका पूर्वाधारहरु विस्तार गर्ने बताए । उनले भक्तजनलाई सहज पुजाआजाको ब्यवस्था गराउन आगामी बर्षदेखी कालिगण्डकीको पानीलाई मन्दिर परिसरमै ल्याउने कार्यलाई पुरा गर्ने बताए ।

कृष्णागण्डकीबाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरधाममा रहेका ज्योतिर्लिङ, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।