स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएका सुन्तलाहरू उत्पादन हुने भएपछि म्याग्दीको सुन्तलाले पोखरामा बजार पाएको छ। सुन्तला खेतीका लागि माटो र हावापानी उपयुक्त मानिएको म्याग्दीको बेनी नगरपालिका–४, बास्कुनाका किसानले बगानबाटै ३० लाखको सुन्तला बिक्री गरेका छन् ।

परम्परागत मकै, गहुँ, कोदोका साथै धानखेतीलाई समेत छोडेर बास्कुनाका किसान सुन्तलाखेतीमा आर्कषित भएपछि ब्यापारीले बोट नै खरिद गरी घरमै नगद बुझाएका छन् । बोटबाटै सुन्तला प्रतिकिलो ५० रुपैयाँको हाराकारीमा पाएपछि कृषक मख्ख छन् । जिल्लामा सुन्तलाको पकेट क्षेत्र मानिने बास्कुनामा किसानको बगानमा पोखराबाट आएका ब्यापारीले धमाधम सुन्तला टिप्न थालेको कृषक तिलक गुरूङले बताए ।

‘मेहनत अनुसारको सुन्तला फलेको छ,‘सुन्तलाको बारीमा कृषकले नगद बुझेका छन्’ गुरुङले भने । उनका अनुसार ब्यापारी बीचको प्रतिस्पर्धाले विगतका तुलनामा कृषकलाई फाईदा भएको बताए । उनका अनुसार बास्कुनामा यसबर्ष ६ हजार भन्दा बढी बोटमा सुन्तला फलेको छ भने करिव १४ हजार भन्दा बडी नयाँ बोटले आगामीबर्ष देखि फल दिने भएकाले पनि तीनबर्षभित्र करिव एक करोडको हाराहारीमा गाउँबाट सुन्तला निर्यात हुने बताए ।

‘आगामी बर्ष दोब्बर फल्ने छ,‘बजारको समस्या छैन’ गुरुङले भने । उनले पछिल्ला केहीबर्ष यता सुन्तला बगैंचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गरिएकाले सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन राम्रो भएको बताए । बेनी हुदै विस्तार गरिएको सडकसँगै अतिरिक्त बगानसम्म सडक सञ्जाल जोडिएकाले सुन्तला बिक्रीका लागि सहज भएको बताए।

बास्कुनामा करिव २० हजारभन्दा धेरै बोट समेत विस्तार गरिएको छ। खाली जमिन, खोल्साखोल्सी तथा आसपासमा रहेका खेतीयोग्य जमिनहरुमा समेत धमाधम सुन्तला खेती गरिएकाले जिल्लामै सबैभन्दा धेरै सुन्तला विक्री हुने गाउँ बनाउन सकिने स्थानीय यूवा सन्दिप केसीले बताए । उनले मेहनत गरे गाउँघरमै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बास्कुना गाउँ बनेको बताए ।‘सुन्तलाबाटै बार्षिक दशलाखसम्म कमाउन सकिन्छ,‘आधुनिक प्रविधिको प्रयास गरिएको छ’ केसीले भने ।

उनका अनुसार गाउँमा सुन्तलाको ब्यवसायीक खेती हाल न्यूजरल्याण्ड रहेका लालबहादुर केसी र तिलक गुरुङ लगाएतले गरेका थिए । स्थानीयले बगैंचा सुधार सहित पुराना बोटको उपचारमा समेत ध्यान दिएकाले गतबर्ष नै फल दिएका बोटबाटै उत्पादन बढेको छ । स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झन्झट कम गर्न ब्यापारीलाई जिम्मा दिएपनि गाउँमै कोल्डस्टोर राखेर आगामी दिनमा अफसिजनमा सुन्तला बजारमा लैजाने योजनामा कृषक छन् ।

बास्कुनाका कृषकलाई एनआरएनए न्यूजरल्याण्डका अध्यक्ष एवम् स्थानीय लालबहादुर केसीले विभिन्न सीप सहित जिल्ला बाहिरको बजारसम्म जोड्न सफल भएकाले पनि स्थानीय उत्साहित भएका छन् । बास्कुनामा ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला भएकाले पोखरामा सजिलै बिक्री गर्न सकिने ब्यापारी हरि तामाङले बताए । ‘मेरो पहिलो रोजाई बास्कुना हो,‘यहाँको सुन्तलालाई देशभरी विक्री गर्न सकिन्छ’ तामाङले भने ।

उनले बोट खरिद गरेको लामो समयसम्म कृषकले नै बोटको सुरक्षा गरिदिने भएकाले निरन्तर खरिद गर्ने गरेको बताए । उनका अनुसरा गाउँमै मुल्य दिएर ढुवानी गर्ने गरिएकाले कृषकलाई समस्या नभएको बताए ।

बास्कुनामा करिव २२ घरधुरीले सुन्तला खेती गरेकोमा यसबर्ष १३ जनाले बारीबाटै सुन्तला विक्री गरेका छन् । जिल्लामा बास्कुनासँगै भकिम्ली, पात्लेखेत,’बरंजा, अर्मन, देविस्थान, बिम, ताकम, मुदी, मराङ, घतान, घार, भुरुङ तातोपानी लगायत गाउँमा सुन्तला खेती गरिएको छ ।

सुन्तला बेचेर कसले कति कमाए ?
न्यूजिरल्याण्डमा रहेका लालबहादुर केसीले सुन्तला बेचेर सबैभन्दा धेरै कमाई गरेका छन् । उनले बगानबाटै ६ लाखको सुन्तला बेचेका छन् । त्यस्तै गुरूङले ५ लाख, देउ बहादुर हुमेन ४ लाख ५० हजार, नर बहादुर केसी ३ लाख ५० हजार, मन बहादुर खत्री २ लाख ५० हजार, जसबहादुर थापा २ लाख, शेरबहादुर केसी २ लाख, रुपा गुरुङ ओमकुमारी १ लाख ५० हजार, तिलक केसी १ लाख ३० हजार, भिम गुरुङ १ लाख, दलबहादुर कार्की ५० हजार, टेक बहादुरकेसी ३५ हजार र गगन घर्ती २५ हजारको सुन्तला विक्री गरेका छन् ।