आजबाट किराँत समुदायको महान पर्व उधौली सुरू भएकाे छ । देशविदेशमा छरिएर रहेकाे त्यस समुदायले धुमधाम साथ मनाउँदैछ ।मंसिर शुक्ल पूर्णिमादेखि सुरू हुने याे पर्व करिब १५ दिनसम्म हर्षोल्लासका साथ मनाइने गरिन्छ । प्रकृतिपूजक किरात समुदायले नदी तथा खोलामा माछा ओरालो (उधो) तिर झर्ने यामलाई उधौली भन्ने गर्छन् । याे पर्व समय ऋतु र प्रकृतिसँग प्रत्यक्ष जाेडिएकाे छ । वर्षायामभरि लगाएका खाद्यान्नलगायतका बाली पाकेर खाने समय भएकाले यस समयमा उनीहरुले अन्नपात देवीदेवातालाई चढाउने गर्दछन् ।

उधाैलीअन्तरगत लिम्बुहरुले ‘चासोक ताङनाम’, किरात राईहरुले ‘साकेला’, ‘सान्केवा’, किरात याख्खाहरुले ‘चसुवा’ र किरात सुनुवारहरुले ‘फोल स्यादर’ भनेर पनि मनाउने गर्दछन् । परम्परागत नाचगान, खानपान र रमाइलाे गरिन्छ । यो मध्ये पनि लिम्बुहरुले धरानमा भने उद्यौली पर्व चासोक तङ्नामको नामले बर्षेनी सामुहिक रुपमा मनाउने गरेका छन् ।

राष्ट्रपतिद्वारा शुभकामना

किरात समुदायकाे पर्व उधाैलीको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिनुभएकाे छ ।‘स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ ।

नेपाल विभिन्‍न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उधौली जस्ता चाडपर्वले हाम्रो साँस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेकाे बताउनुभएकाे छ । यस प्रकारका चाडपर्वहरूले सामाजिक एवम् पारिवारिक जमघट गराउन र समुदायका बीचमा आपसी सम्बन्धलाइ सुमधुर बनाउन सहयोग गरेकाे पनि उहाँकाे भनाइ छ ।‘प्रकृतिसँग अभिन्‍न सम्बन्ध रहेको किराँत समुदायको उधौली पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्‍भाव अभिबृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्‍दै उहाँले शुभकामना दिनुभएकाे हाे ।