करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई पठाउन थाले। काठमाडौंमा पढ्दै गरेकी युवतीलाई उनीमाथि शंका लागेपछि प्रहरीमा उजुरी गरिन् र तिमल्सिना समातिए।

सामाजिक सञ्जाल दुरुपयोग गर्दा समातिनेमा काठमाडौंमै बस्दै आएका ३८ बर्से शिवहरि थापा पनि पर्छन्। फेसबुकमार्फत् उनको २० वर्षीया युवतीसँग चिनजान भयो। सम्बन्ध अघि बढ्दै गएपछि उनले युवतीसँग बिहेको प्रस्ताव राखे र भेट्न बोलाए। युवती संखुवासभादेखि काठमाडौं आइन्। बौद्धको होटलमा भेट भयो। सँगै बसेका केही तस्बिर मोबाइलमा खिचे। आफूभन्दा थापा १८ वर्ष जेठा भएको थाहा पाएपछि युवतीले सम्बन्ध अघि बढाउन चाहिनन्। थापा त्यसको प्रतिशोध लिन चाहन्थे। उनले युवतीको फेक फेसबुक आईडी बनाएर युवती सँगै बसेका तस्बिर पठाउन थाले। यस्तो गरेकोमा उनी अहिले कारागारमा छन्।

कपिलवस्तुका २६ बर्से अकबर अलि मियाँले अपत्यारिलो साइबर अपराध गरे। सामान्य मजदुरी गर्ने उनले आमाको नामबाट सिमकार्ड किनेर एक महिलालाई राति १२ बजे फोन गरे। महिलाले चिन्न अस्विकार गरेपछि उक्त महिलाको टाउको अश्लील फोटोमा जोडेर म्यासेजमा पठाउँदा उनी समातिए। यो खबर आजको अन्नपूर्ण पाेस्टमा छ।