सहकर्मी हत्याको अभियोगमा साउदी अरवमा जेल सजाय भोगिरहेका म्याग्दीको मालिका गाउँपालिका–६ दिच्यामका राजकुमार निउरे घर फिर्ती अभियानमा मोना साउदी अरवले २ लाख ३८ हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

मोरङ जिल्लाका कमल वस्तीको हत्याको आरोपमा ६ बर्षदेखि जेल सजाग भोगिरहेको समाचार बेनीअनलाइनबाट सार्वजनिक भएपछि सुरु भएको आर्थिक संकलन अभियानसँगै आवश्यक कागजात तथा कानुनी परामर्शमा समेत सहयोग गरिरहेको मोना साउदीले मोना आइसीको खातामा १ लाख ८६ हजार ८४० र हरिमायाँ निउरेको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा ५१ हजार ८१५ रुपैयाँ गरी २ लाख ३८ हजार ६५५ रुपैयाँ सहयोग गरिएको मोना साउदीका बरिष्ठ उपाध्यक्ष सुबोद बरुवाल क्षेत्रीले बताए ।

उनका अनुसार निउरे घरफिर्ती अयिभानमा निलप्रसाद सुनार, उपाध्यक्षम कृष्ण चोखाल, गोपाल रत्न, बिकास बाबु परियार, ओमकुमार रसाईली, छकप्रसाद परियार, हिरा क्षेत्री, थप मगर, दिपक खत्री सहितको विषेश पहलमा आर्थिक संकलन गरिएको बताए ।

साउदी अरवमै जेलमा रहेका म्याग्देलीका बारेमा समाचार आएलगत्तै मोनाले सक्रियता देखाएपनि विभिन्न प्राविधिक कारणले जेलमा भेट्न समस्या भएको अध्यक्ष विपिन पौडेलले बताए । ‘सहयोगदाता सबैलाई धन्यवाद,‘उहाँलाई छिटै घर फिर्तीका लागि सक्दो सहयोग गछौ’ पौडेलले भने । मृतकका परिवारले माग गरेको रकम उपलब्ध गराएपछि घर फिर्ती अभियानमा सहज हुने पौडेलको भनाई छ।

नेपाली दुताबास सहित आवश्यक कानुनी प्रक्रियामा बारेमा समेत म्याग्देलीले विभिन्न माध्यमबाट सम्पर्क गरेका छन् । कमजोर पारिवारिक अवस्थाका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन २०६८ साल जेठ २ गते साउदी पुगेका निउरे कम्पनीमा कार्यरत साथीहरू बिच झगडा भएपछि गम्भीर घाईते वस्तीलाई उपचारका लागि अस्पतालमा लैजाने क्रममा हत्याको अभियोगमा जेलमा परेका थिए ।

निउरे घाईतेलाई बोकेर अस्पतालमा लैजाने क्रमा फिंगर प्रिन्टलाई आधार मानेर प्रहरीले हत्यामा संलग्न रहेको आरोपसँगै मुद्धा दर्ता गरेको पाँचबर्षपछि मात्रै परिवारले जानकारी पाएका थिए । बि.श २०७० सालदेखि अबैध रुपमा कम्पनीमा काम गदैं आइरहेका निउरे सोहीबर्ष जेलमा परेका थिए ।

विज्ञापन