पर्वतको जलजला गाउँपालिका ७ मिलनचोकमा जारी गौमहोत्सवको छैटौं दिनसम्म करिब ३ करोड पाँचलाख रुपैयाँ संकलन भएको छ । गण्डकी गोपाल गौशालाको आयोजनामा सञ्चालन गरिएको गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव छैटौ दिन करिब ३० लाख रुपैयाँ दान प्राप्त भएको सचिवालयले जनाएको छ ।

महोत्सवको छैटौ दिन विहिवार जलजला ७ लस्ती निवासी विप्लब हमालको परिवारबाट पाँच लाख पाँच हजार पाँचसय ५५ रुपैयाँ दान गरी सभानायक बन्नुभएको महोत्सव मुल आयोजक समितिका उपाध्यक्ष शिव जिसीले जानकारी दिनुभयो ।
कालिगण्डकी किनारमा आयोजना गरिएको गौमहोत्सवमा भक्तजनहरुको निकै भिड लागेको छ ।

भक्तजनहरुको आकर्षण बढेपछि महोत्सवको समयअवधि एकदिन थप गरिएको आयोजकले जनाएका छन् । महोत्सवमा दुइलाख भन्दा बढी दान गर्ने दानविरहरुलाई विहिवार हेलिकप्टरबाट जलजला,कालाञ्जर र गौशालाको अवलोकन गराइएको मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।

आचार्यले दिएको जानकारी अनुसार एनआरएनएका पूर्व उपाध्यक्ष कुलप्रसाद आचार्यको संयोजकत्वमा आर्थिक संकलन गरी गौशालामा एक करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरिने भएको छ । धाइरिङमा जन्मी हाल बेलायतमा बसोबास गर्नुहुने आचार्य सहितको टोलीले गौशालाको स्थलगत अवलोकन समेत गरेको थियो । गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गरिएको हो ।

महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । गौशालामा एकहजार गाई पाल्ने गरी वृहत गौशाला निर्माण गर्ने लक्ष्य रहेको अध्यक्ष आचार्यले बताउनुभयो ।

महोत्सवमा स्वामी कमलनयन आचार्य,सुदर्शन बराल लगायत पण्डितहरुले धार्मिक प्रवचन गरिरहनुभएको छ । प्रत्येक दिन साझपख गंगा आरती र बेलुका भजनकृतन गरिएको छ । महोत्सवमा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको छ । स्वामी आचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।

Leave a Reply