नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुनेभएको छ । पहिरो रोक्ने कामका लागि दुई साताका लागि सवारीसाधन सञ्चालनमा रोक लगाईएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय यसअघि नै गरेको थियो ।
ढुङ्गा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको सूचना अधिकारी खनालले बताए । रु १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिनाभित्र सक्ने योजना छ । पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको उनले बताए ।
नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयको मागअनुसार निर्णय गरिएको भन्दै सो अवधिमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले सबैमा आह्वान गरेको छ । सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारीसाधन पन्ध्रकिलो र मालवाहक सवारीसाधन दासढुङगामा रोकिनेछन् ।
यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारीसाधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारीसाधन लेवाटार र आबुखैरहनीमा रोकिने छ । सो अवधिमा एम्बुलेन्स, शववाहन लगायतका अत्यावश्यक सवारीसाधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।