बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाबाट म्याग्दीको गूर्जाखानी जोड्ने सडकखण्ड अन्तरगतको भाग कालोपत्रे सुरु भएको छ । ढोरपाटन नगरपालिका वडा नं. ६ को दोगादी–गादीखोला– चामिद्धवार–छ्यान्तुङ हुँदै म्याग्दीको गुर्जा जोड्ने सडकको दोगादीदेखी तल्लो भाल्ने सम्मको १० किलोमिटर खण्ड कालोपत्रे गर्न शुरु गरिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी प्रदेशको २५ करोड २६ लाख ८० हजार १ सय ८२ रुपैयाँ बजेटमा सडक स्तरोन्नती संगै कालोपत्रे गर्न लागिएको ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले बताए ।

गण्डकी प्रदेशको “एक निर्वाचन क्षेत्र, एक सडक आयोजना” अन्तर्गत बागलुङ क्षेत्र नं. २ ‘ख’ बाट निर्वाचित स्वर्गिय सांसद टेकबहादुर घर्ती मगरको विशेष पहल र निर्णयमा कालोपत्रे गर्ने कार्यको मेयर नेपाली र स्वर्गिय सांसद घर्तीकी धर्मपत्नी सुनमाया घर्तीले संयूक्त रुपमा सडक कालोपत्रको शिलन्यास गरेका छन् । बागलुङको ढोरपाटनलाई म्याग्दीसंग जोड्ने उक्त सडक हाल सम्म ढोरपाटन नगरपालिका वडा नं. ६ गादीखोला देखि माथिल्लो भाल्ने भन्ने स्थान सम्म साढे १२ किलोमिटर मात्रै निर्माण गरिएको र बाँकी निर्माणको क्रममा रहेकाले केहीबर्षभित्र म्याग्दीका गूर्जाबासीले समेत सडक सञ्जालमार्फत आवतजावत गर्न सक्ने वडा अध्यक्ष जिवन पुनले बताए ।

उनका अनुसार करिब ९ वर्ष अघि देखि सो सडक निर्माण थालिएको थियो । गाउँ परिषद्, जिल्ला विकास समिति, क्षेत्रिय सडक डिभिजन, सांसद विकास कोष र स्थानीयको समेत लगानीमा १ करोड ९० लाख रुपैँया भन्दा बढि रकम सो सडक निर्माणमा खर्च भइसकेको छ । सडकको ट्रयाक खुले पनि बर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुका साथै विभिन्न घाटमा पक्की पुल नहुँदा आवत जावतमा निकै समस्या खेप्दै आएका स्थानीय बासिन्दा सडक कालोपत्रे हुने भएपछि उत्साहित भएका छन् ।

कालोपत्रको जिम्मा ठेक्का प्रक्रिया मार्फत, श्रेष्ठ, गल्भा, क्याराभन जेभी, गोपीकृष्ण नगर – ७ काठमाण्डौले लिएको छ । कालोपत्रेको काम दुई वर्ष भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको निर्माण कम्पनीका सहायक ईन्जीनियर रबिन्द्र बहादुर सिजापतीले बताए । सो सडक खण्डको स्तरोन्नतीका लागि यसै आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकी प्रदेशबाट थप रु. १ करोड ५० लाख बजेट विनियोजन भएको छ । उक्त बजेटले माथिल्लो भाल्ने देखि करिब ५ किलोमिटर माथि सम्म ट्रयाक खोल्ने गरि काम अघि बढेको बताइएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नं २ लुलाङसम्म सडक सञ्जाल पुगेपनि लुलाङबाट गूर्जासम्मको सडक तत्काल सम्भव नभएको अवस्थामा बागलुङको ढोरपाटनबाट सुरु गरिएको सडक विस्तार अभियानले गूर्जाबासीसँगै पर्यटकलाई समेत सहज हुने छ । गूर्जाबासीले बागलुङ तर्फ आवतजावत गर्न सहज हुने गरी पदमार्ग निर्माणमा प्राथमिकता दिदै आएका छन् ।